रोकिएन रतिदोहन, खोलाबीचमै एक्साभेटर र डोजर

914
views

पर्वत, ७, फागुन । मोदी गाउँपालिकामा पर्ने रतिखोलाको न्युरेनी वगरमा ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य वस्तुको उत्खनन् गर्ने कार्य झन् बढेको छ । सम्झौता विपरीत खोलामा एक्साभेटर र डोजर लगाएर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम रोकिएको छैन् । विल्ड वेल कन्ट्रक्सन प्रा.लि.ले सम्झौतामा उल्लेखित नियमको उलंघन गर्दै रति खोला दोहनलाई तिव्र बनाएको हो ।

यसअघि रतिखोला दोहनको विषयमा स्थानीयको चौतर्फी विरोधपछि जिल्ला समन्वय समिति पर्वतले नियम विपरीत कार्य गरेको भन्दै जरिवाना गरेको जनाएपनि सो कन्ट्रक्सन प्रालिले तोकिएको ठाउँ भन्दा विपरित अन्यत्र ठाउँमा समेत ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदजिन्य वस्तुको उत्खनन् गरिरहेको छ ।

सम्झौतामा कामदार, ज्याला मजदुर र घरेलु औजार लगाएर ढुङ्गा, गिट्टी, बालुवा निकाल्नुपर्ने नियमको उलंघन गर्दै कन्ट्रक्सनले डोजर र एक्साभेटर प्रयोग गरी सम्झौता स्थान न्यूरेनी वगरदेखी घाटगद्द्धीसम्म नदजिन्य वस्तुको उत्खनन् गरिरहेको छ । असम्बन्धित ठाउँमा उत्खनन् कार्य हुँदा सम्बन्धित निकाय मौन बसेको छ ।

ढुङ्गा, ग्राभेल, गिट्टी, बालुवा, रोडा, चोकर आदि उत्खनन् एवं संकलन गर्दा मेसिनको प्रयोग गर्न नपाईने नियमको उलंघन गर्दै खोला दोहन हुँदा आसपासका वस्तीहरु प्रभावितसँगै खेत, जलचरहरु समेत संकटमा परेको स्थानीयले बताएका छन् । रतिखोलामा दोहन हुँदा दलित वस्ती जोखिममा परेको मोदी गाउँपालिका–६ की स्थानीय देवी सुनारको भनाई छ ।

मोदी गाउँपालिकाका प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले स्थानीय सरकारको आम्दानी बढाउनका लागि रतिखोला उत्खन्न गर्न सम्झौता गरेको तर सम्झौता विपरीत कार्य गरेको भए त्यसलाई पूनःरोक्ने बताएका छन् ।

रतिखोला दोहन नियम विपरित रतिखोला दोहन भएको भन्दै स्थानीय लोकेन्द्रजंग लामिछानेले मोदी गाउँपालिका, प्रशासकीय अधिकृत कामान सिंह गुरुङ, अध्यक्ष प्रेम पौडेल, जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल प्रा.लि.का सुरेश सुवेदीलाई विपक्षी बनाई वाग्लुङ उच्च अदालत पोखरा वाग्लुड इजलास वाग्लुडमा उत्प्रेषण युक्त परमादेश समेतको जो आज्ञा आदेश जारी गरिपाऊँ भन्ने निवेदन गरेका छन् ।