देखिदैनन् बन्दकर्ता तर पर्वत बन्द

734
views

महेन्द्र जिसी
पर्वत, ३०, फागुन । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ । तर सो पार्टीका कुनैपनि कार्यकर्ता पर्वतमा नदेखिएपनि सडक, बजार, पसल, संघसंस्था पूर्ण रुपमा बन्द भएका छन् ।

नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्वतमा पनि विहानैदेखि परेको हो । बन्दका कारण बिहानैदेखि बजार क्षेत्रमा चहलपहल कम छ भने सडकमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैन ।

धौलागिरी बस काउन्टर तथा पर्वत यातायात व्यवसामी समितिको टिकट काउण्टर दिनभर बन्द रहेका छन । व्यवसायीहरुले सुरक्षाको अभावका कारण सेवा दिन नसकिएको प्रतिकृया दिएका छन ।

गाउँ स्तरमा सवारी गुडाउन सुरक्षा चुनौती भएपछि सवारी चल्न नसकेको व्यावसायिहरुको भनाई छ । सवारी साधन नचल्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योग व्यावसाय पनि ठप्प बनेका छन् ।

सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको संख्या न्यून रहेको छ । बैंक तथा वितीय संस्थाहरु पनि दिनभर बन्द रहेका हुन । बन्दकर्ताहरु नदेखिएपनि राजमार्ग तथा बजरा क्षेत्र पुरै ठप्पजस्तै भएको हो ।

बन्दको प्रभाव देखीएपनि जिल्लामा अप्रिय घटना भने घटेका छैनन । अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा पारिएको पर्वत प्रहरीले जनाएको छ । सदरमुकाममा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।