काबुल सूचना मन्त्रालयमा भएको आक्रमणमा सातको मृत्यु

517
views

बैशाख, ८, गते । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । शनिवार त्यहाँ विस्फोटन भएको सुनिएको थियो । त्यसपछि दिउँसो अबेरसम्म फाट्टफुट्ट गोली चलेको अधिकारीहरुले बताएका छन् । सरकारी पक्षले छ घण्टापछि घटना नियन्त्रणमा आएको घोषणा र्गयो ।

मृत्यु हुनेमा चार सर्वसाधारण र तीन प्रहरी अधिकारीहरू छन्। आठजना सर्वसाधारण पनि घाइते भएका छन् । मन्त्रालय स्रोतका अनुसार तीन सशस्त्र व्यक्तिहरू सो आक्रमणमा संलग्न थिए । तीनमध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको उनले बताए ।

उनका अनुसार दोस्रो व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीले गोली हानेको थियो ।

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो । राजधानीको व्यस्त क्षेत्रमा भएको आक्रमणपछि सयौँ सर्वसाधारणलाई उद्धार गरिएको मन्त्रालयले बताएको छ । बीबीसी