विष्णु पौडेलका छोराले किनेको बालुवाटारको जग्गा वैधानिक–मन्त्री अर्याल

1351
views

काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेकपाका महासचिव विष्णु पौडेलका छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको दाबी गरेकी छिन् । रिपोर्टर्स कलब नेपालमा भएको साक्षत्कार कार्यक्रममा मन्त्री अर्यालले पौडेलका छोरा नवीन पौडेलले किनेको ललिता निवासको जग्गा मोही किटान भएका कारण वैधानिक भएको दाबी गरिन् ।

उनले ललिता निवासको जग्गा खरिद प्रकरणमा टिप्पणी गर्दै ‘विष्णु पौडेलका छोरा नविन पौडेलसित जोडिएको आएको जग्गाको विषयमा हामीले अध्ययन गर्यौं, उनले भनिन् नविनले जुन जग्गा किन्नुभएको छ, त्यो मोही किटान भएर मोही साविक भएको, मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिको रुपमा हस्तान्तरण भएको जग्गा हो ।’

उनले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन्। ‘हिजो मात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं’, उनले भनिन्, ‘सबै कित्ताहरु रोक्का गरेका छौं । सात दिनको समयसीमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं ।’

मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको पनि सुरुवात हुने विश्वास दिलाइन् ।

वर्तमान सरकारले विगतमा भएका बेथितिहरुलाई धमाधम बाहिर ल्याएको सुनाउँदै उनले भूमाफीयाहरुलाई संरक्षण गर्यो भनेर गलत प्रचार गरिँदा दुःख लागेको सुनाईन् । उनले भनिन्,‘हिजो अतिक्रमण गरिएका सरकारी जग्गाहरु फर्काउने अभियानमा यो सरकार छ ।’