आज गणतन्त्र दिवस

2200
views

काठमाडौँ, १५, जेठ । आजकै दिन नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन हो ।

आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणाको ११ वर्ष पुगेर १२ वर्ष लागेको छ ।

नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने क्रम जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ र बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । साथै, नारायणहिटी राजदरबार परिसरमा निर्माण भएको ‘गणतन्त्र स्मारक’ आजबाटै सञ्चालनमा आउँदैछ ।

गणतन्त्र दिवसको अवसरमा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरु एवं पूर्व राष्ट्रपति, नागरिक समाजलगायतले शुभकामना व्यक्त गर्दै जेठ १५ नेपालको इतिहासको एक अविस्मरणीय दिन भएको बताएका छन् ।