महिलाहरुका लागि नटक्राफ्ट तालिम सम्पन्न

417
views

पोखरा । महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिने नटक्राफ्ट तालिम पोखरामा सम्पन्न भएको छ । पर्यटकिय नगरी पोखरामा हस्तकलाका सामाग्रीको माग बढ्दै गएकाले उत्पादनमूलक कार्यमा महिलाहरुलाई अग्रसर बनाउनका लागी तालिम संचालन भएको हो ।

महिला मञ्च कास्कीको आयोजनामा भएको सो तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दिर्घनारायण पौडेलले महिलाहरुलाई आर्थिक सबल बनाउन सके मात्र समृद्धिको ढोका खुल्न मद्धत पुग्ने बताउनुभयो । तालिम दिदा लक्षित समूहको आवश्यकतालाई मध्यनजर राखेर दिनुका साथै सिप सिकेर ब्यवसायिकता तर्फ अगाडि बढ््नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष दुर्गा कुमारी के.सी.ले महिला उद्यमशिलता आजको आबश्यकता भएकाले सिपमूलक तालिमको आयोजना गरिएको बताउनुभयो ।

सामाजिक मन्त्रालय गण्डकी प्रदेशका उपसचिव भिम प्रसाद तिवारीले गण्डकी प्रदेशलाई उद्यमशिलताको नमूना प्रदेशको रुपमा बिकास गर्ने सोच मन्त्रालयले राखेको बताउँदै सोहि अनुसारका कार्य अगाडि बढाउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष बिमला भण्डारीले महिलाहरुको अर्थमा पहुँच नभएकै कारण बिभिन्न खाले हिंसामा पर्नुपरेको बताँउनुभयो । स्थानिय कच्चा पदार्थबाट बन्ने हस्तकलाको बजार फराकिलो भएता पनि माग अनुसारका बस्तु उत्पादन हुन नसकेकाले उद्यमशिलताको बिकासमा चुनौति थपिएको बताउनुभयो ।

नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटले गण्डकी प्रदेशमा रहेका महिलाहरुको आयस्तर बढाउनका लागि प्रदान गरिएका तालिमहरुको अनुगमन हुनुपर्नैमा जोड दिनुभयो । तालिमका लागि मात्र सिप दिदा त्यसको औचित्य नरहने बताउँदै मन्त्रालयको ध्यान त्यतातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला उद्यमी नम्रता बराल, सामाजिक व्यक्तित्व बिजयराज आचार्र्य, नारी परोपकार आमा समूहक अध्यक्ष शारदा गिरी ,स्वस्तीक हस्तकलाका उधोगका अध्यक्ष सिता गुरुगं लगायतले बोल्नुभएको थियो ।

सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा सम्पन्न उक्त तालिममा पोखरा महानगरका ५० जना महिलाहरुले हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम लिएका थिए । उनीहरुले उत्पादन गरेका सामाग्रीहरु सजावटका लागि बढि प्रयोग एवं बिक्रि हुने भएकाले बजारमा उच्च माग रहेको समेत बताईएको छ ।

सहभागीको तर्फबाट बोल्दै अन्जु क्षत्रीले यो तालिम निकै फलदायी रहेको र समय अलि कम भएको बताउँदै एडभान्स कोर्ष पनि आबश्यकता भएको बताउनुभयो ।

सो तालिममा उत्कृष्टता हासिल गरेका सहभागीलाई पुरस्कृत समेत गरिएको छ । प्रथम हुनेमा अन्जु क्षत्री, द्धितियमा ज्योति शाही र तृतिय नारायणी बस्नेत रहेका छन् । तालिम अबधीभर सुमित्रा श्रेष्ठ, मन्जु परियार लगायतका ४ जना प्रशिक्षकले तालिम प्रदान गरेका थिए ।