कम्युनिष्टलाई प्रा.डा. केसीको प्रश्नः के पृथ्वीनारायणले देश बनाएर अपराध गरे ?

926
views

नुवाकोट, २७, पौष । नुवाकोटको साततले दरवार नजिक रहेको टुडिखेलमा आयोजित २९८ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक एवं ईतिहासका अध्येता प्रा.डा. सुरेन्द्र केसीले कम्युनिष्टहरुलाई प्रश्न गर्दै भने के पृथ्वीनारायण शाह लगायतले यो देश बनाएर ठुलो अपराध गरेका हुन ?

उनले कम्युनिष्टले पृथ्वी नारायण शाहको शालिक भत्क्याएको प्रसंग कोट्याउँदै उनीहरुलाई पृथ्वीनारायण शाह लगायतले यो देश बनाएर ठुलो अपराध गरेजस्तो लागेको बताए । केसीले राष्ट्रको निर्माणका लागि भौगोलिक एकताले मात्र राष्ट्रिय एकता नहुने भन्दै राष्ट्रिय एकता हुनका लागि भावनात्मक एकताको खाँचो रहेको बताए ।

केसीले भूगोलभित्र रहेको सम्पूर्ण जातजाति, धर्म, भाषाभाषी, जीवन पद्धति आदिको रुप नै नेपाल राष्ट्र भएको बताउँदै एक भूगोलका जनता अर्को भूगोलमा जाँदा फर्कने हो कि होइन भन्ने प्रकारको अवस्था सिर्जना नगरी सबै समुदायको समानुपातिक समावेशीसहितको समृद्ध र शान्तिपूर्ण नेपाल बनाउन सकेमात्रै राष्ट्रिय एकता हुने बताए ।

प्रा.डा. केसीले भने ‘मुलुकमा हामीले चाहेको लोकतन्त्र त ल्यायौं तर, हामीले चाहेको सोच अराख्न पाएका छैनौं, देश निर्माताको शालिक ढालेर इतिहासलाई ब्रेक गर्ने प्रणाली र प्रक्रिया अन्त्य गरिनुपर्दछ ।’ उनले इतिहासका कालखण्ड बुझ्न नेपाल पृथ्वीनारायण शाहलाई बुझ्नुपर्ने धारणा समेत व्यक्त गरे ।

उनले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरे वर्तमान कम्युनिष्ट सरकारले पछिल्ला केही वर्षयता बिदा कटौती गरेकोमा आपत्ति जनाए ।

बिदुर नगर प्रमुख सञ्जु पण्डितको सभापतित्वमा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।