प्रदेश-२ लैङ्गिक विभेद कमगर्न अभियान शुरू

948
views

जनकपुरधाम, २१, माघ । लैङ्गिक विभेद कम गर्न र महिला हिंसा रोक्न प्रदेश दुईले एकैसाथ दुई अभियान शुरू गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस अघिदेखि नै सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानसँगै ‘सुरक्षित बेटी अभियान’ पनि शुरू गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जनकपुरमा ‘महिला हिंसा विरुद्ध शून्य सहनशीलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ नारा दिएर सुरक्षित बेटी अभियानको थालनी गरे ।

महिलामाथि हुने हिंसा सबै क्षेत्रबाट हटाउन ‘सुरक्षित बेटी अभियान’ अभियान शुभारम्भ गरिएको हो । यो अभियानअन्तर्गत अब हरेक विद्यालयमा अनिवार्य रुपमा प्रशिक्षण म्यानुअलु बनाएर छोरीहरुलाई आत्मरक्षा प्रशिक्षण दिइनेछ ।

प्रदेश २ का १३६ वटै स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी दीर्घकालीन रुपमा लैङ्गिक हिंसा विरुद्ध अभियान चलाउनले प्रदेश सरकारको योजना छ । यो अभियानले भयरहित वातावरण बन्ने विश्वास लिइएको छ । समाजबाटै महिलालाई सुरक्षित बनाउन समाजको चेतनास्तर अभिवृद्धिका लागि समेत प्रवर्द्धनात्मक कार्यक्रम गरिने प्रदेश सरकारले जनाएको छ ।

‘सुरक्षित बेटी अभियान’ अन्तर्गत सचेतनामुलक सन्देश उत्पादन तथा प्रसारण, मि टु अभियान, विद्यालय पाठ्क्रममा लैगिंक हिंसाका विषयहरु समावेश गर्ने, लैगिक हिंसा निवारण कोषको व्यवस्था गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयकी अधिकृत नीतु दुवेले जानकारी दिइन्‌ ।

उनका अनुसार यो अभियानअन्तर्गत जनचेतना मुलुक कार्यक्रमका साथै महिला हिंसा विरुद्धको ऐन कानुनबारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजायको व्यवस्था गरिनेछ ।