कोरोना भाईरसको त्रासले रोकिएका नेपाली फिर्ता

730
views

सङ्खुवासभा, २२, माघ । कोरोना भाईरसको त्राससँगै किमाथाङ्का नाका बन्दले चीनमा थुनिएका नेपालीको उद्धार गरिएको छ । रोजगारीको क्रममा चीन पुगेका १४ नेपालीलाई मंगलबार साँझ फिर्ता गरिएको हो ।

चीनमा कोरोना भाईरस फैलिएपछि माघ ५ गते नाका बन्द गरिएको थियो । नाका बन्द गरिदा संखुवासभाका १२ र ताप्लेजुङका २ गरि १४ जना मजदुर चीन शासित क्षेत्र तिब्बतको जाँगा बजारमा थुनिएका थिए । थुनिएकाहरुलाई स्थानीय प्रशासन, सिमा प्रहरी चौकी, सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट र भोटखोला गाउँपालिकाको पहलमा स्वदेश फिर्ता गरिएको हो ।

स्वदेश फिर्ता गरिएकाहरुलाई भोटखोला गाउँपालिका १ का वडाध्यक्ष तेन्छेवी भोटे, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका नीरिक्षक देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथांकाको टोलीले बुझिलिएका थिए । चीनको तिब्बत र किमाथाङ्काको बिचमा रहेको कामु खोलाको गेटसम्म चिनियाँ स्वास्थ्यकर्मीको टोली सहित थुनिएकाहरु आएको र नेपालबाट पनि स्वास्थ्यकर्मी सहितको टोलीले उनीहरुलाई बुझिलिइएको थियो ।

फिर्ता भएका नेपालीहरुमा कुनै स्वास्थ्य समस्या नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी थिए ।