विपन्न वर्गलाई राहत, कर्मचारीलाई भत्ता

576
views

भिमाद, १८, चैत्र । सरकारले घोषणा गरेको लकडाउनको समयमा पीडित बनेका ज्याला मजदुरी गरी गुजारा चलाउने विपन्न वर्गका लागि तनहुँको भिमाद नगरपालिकाले राहात प्याकेज ल्याएको छ ।

नगरप्रमुख मेखबहादुर थापाका अनुसार कोरोना भाईरस (कोभिड (१९) को संक्रमण फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी गुजरा जलाउन विपन्न वर्ग पीडित परिवारलाई विशेष राहात प्याकेज ल्याइएको हो ।

नगरपालिकाले कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनले प्रभावित भएका न्यून आयस्तर भएका समुदायको पहिचान गरी राहत तथा खाद्यन्न उपलब्ध गराउने योजना ल्याएको थापाले बताए ।

ज्यालामजदुरी गरेर दैनिकी चलाउने नगरका सबै वडामा के कति संख्यामा यस्तो वर्ग बसोवास गर्छन उनीहरुको पहिचान गरी राहत तथा खाद्यन्न उपलब्ध गराउने योजना नगरपालिकाले ल्याएको बताए ।

यस्तै, कोरोना भाइरस नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारी, सरफाईमा खट्ने कर्मचारी, कार्यालयका कर्मचारी, सुरक्षाकर्मीहरुलाई २५ देखि ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको व्यवस्था गरिने पनि नगरप्रमुख थापाले जानकारी दिए ।

उनले भने, ’नगरबासिको स्वास्थ्य सुरक्षाप्रति हामी सचेत छौं । सोही अनुसार आवश्यक सावधानी अपनाउँदै अगाडि बढेका छौं । भाइरस संक्रमण न्यूनिकरणका क्षेत्रमा खटिने कर्मचारी, एम्बुलेन्स तथा अन्य सवारी चालकहरुलाई समेत प्रोत्साहन भत्ताका साथ जीवन वीमाको व्यवस्था गर्ने तयारीमा हामी लागेका छौं ।’

नगरपालिकाले गत दुइहप्ता भित्र भारत लगायत अन्य मुलुकबाट आउनेको तथ्याङ्क पनि संकलन गरेको छ । हालसम्म संकलित तथ्याङ्क अनुसार भारत लगायत अन्य मुलुकबाट आउनेको संखया १०८ जना रहेको र उनीहरु होम क्वारेन्टाइनमा सुरक्षित रुपमा बस्दै आएको उल्लेख गरिएको छ । हालसम्म उनीहरुमा कुनैपनि समस्या नदेखिएको नगरप्रमुख थापाले बताए ।

यस्तै, भाइरस संक्रमणको लक्षण देखिएमा सुरक्षित रुपमा बस्नका लागि हाल भिमाद स्थित जनज्योति माविमा ९ वेडका क्वारेन्टाइन कक्ष समेत तयार पारिएको छ । नगरपालिकाले तीनलाख रुपैयाँको विपत व्यवस्थापन कोष पनि खडा गरेको र स्वास्थ्यकर्मीहरुलाई पाँच थान व्यक्तिगत सुरक्षा कवज (पिपिई)को व्यवस्था गर्नुका साथै १ थर्मल गन उपलब्ध गराएको छ ।