पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

516
views

पर्वत । पर्वतका सातवटै पालिकामा गरिएको कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९ सय ४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

जिल्लाको कुश्मा नगरपालिकामा १ सय १७, फलेवास नगरपालिकामा १ सय १५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा १ सय १० र पैयुँ गाउँपालिकामा १ सय १० जनाको स्वाब सङ्कलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो ।

समुदायमा पुगेर स्वाब सङ्कलन गरिएका ९ सय ४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए ।

उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट टे«ेसिङमा परेका २ सय ४० जनाको पनि नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार १ सय १३ र भारतबाहेक तेस्रो मुलुकबाट ३ सय ६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १ सय ४० पुरुष र ३ सय ७८ महिला गरी दुई हजार ५ सय १८ जनाको पिसीआर परीक्षण गरिएको छ ।

पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट टे«सिङका गरी जम्मा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ संक्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार ती संक्रमितको भोलि सोमबार स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।