देशभर कोरोना भाइरस संक्रमितको संख्या २० हजार पुग्यो

358
views

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै २५ हजार सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय १३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको बताए। उनका अनुसार मंगलबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ।

सरकारले पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पिसिआर परीक्षण गर्दा संक्रमित पनि बढेका छन्। मंगलबार ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ। उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ।

संक्रमितको संख्या ह्‍वात्तै बढिरहँदा डिस्चार्ज हुने क्रम पनि घटेको छ। एक महिनाअघि एकै दिन २१ सय जना डिस्चार्ज भएका थिए। तर मंगलबार ७ सय ३१ जना मात्रै कोरोनालाई जितेर घर फर्किएका छन्। साता अघिसम्म डिस्चार्ज हुनेको संख्या दैनिक हजारभन्दा माथि थियो।

काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ। यही दरमा सक्रिय संक्रमित बढ्दै गएमा सरकाले तेश्रो चरणको लकडाउन गर्नुपर्ने तर्फ बढेको छ। मंगलबार मात्रै संस्थागत आइसोलेसनमा ९ हजार जना संक्रमित रहेका छन्।

त्यस्तै होम आइसोलेसनमा १० हजार ९ सय ९१ जना बसेका छन्। संक्रमण फैलिएसँगै गम्भीर बिरामी पनि बढिरहेका छन्। संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन्। ​