भारत र अमेरिकाबीच सैन्य सम्झौता

501
views

कार्तिक, १२ गते । चीनसँग चर्को सिमाना तनावका माझ भारत र अमेरिकाले भूउपग्रहमार्फत् प्राप्त हुने सम्वेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन् । त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ ।

दिल्लीमा भएको ’२ं२’ उच्चस्तरीय भेटवार्तापश्चात् मङ्गलवार उक्त सम्झौताको घोषणा गरिएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन् ।

‘बेका’ सम्झौता ?
बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रिमेन्ट अन जियोस्पाचियल कोअपरेशन वा छोटकरीमा बेका सम्झौता अन्तर्गत भारतलाई सैन्य विकल्पहरूमा सघाउन आवश्यक सम्वेदनशील जियोस्पाचियल तथा एअरोनटिकल डेटा अमेरिकाले उपलब्ध गराउनेछ ।

दुई पक्षले परमाणु ऊर्जा, भू-विज्ञान तथा वैकल्पिक औषद्योपचारसम्बन्धी अन्य सम्झौता पनि गरेका छन्। तर सबभन्दा महत्त्वपूर्ण बेका सम्झौता मानिएको छ ।

यो सम्झौता अन्तर्गत अमेरिकाले भारतलाई प्रदान गरेका सैन्य विमानहरूमा नेभिगेशन तथा एभियोनिक्ससम्बन्धी अत्याधुनिक सुविधा राखिने एकजना भारतीय रक्षा सूत्रले रोयटर्स समाचार संस्थालाई बताए ।

भारत र अमेरिकाबीचको पछिल्लो सैन्य सम्झौता त्यतिखेर भएको छ जतिखेर हिमाली लद्दाख क्षेत्रमा भारत र चीनबीच सिमाना विवाद चर्किएको छ ।

गत जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो। भारत र चीनबीच महिनौँदेखि सिमानामा तनाव कायम छ ।

महिनौँ यता भएका विभिन्न चरणका कूटनीतिक तथा सैन्य वार्ताले पनि स्थिति सहज भइसकेको छैन ।

यही समयमा अमेरिका र चीनबीच पनि सम्बन्ध विग्रिएको छ । राष्ट्रपति ट्रम्पले बेइजीङको कोरोनाभाइरस व्यवस्थापनको चर्को आलोचना गरेका छन् । (बीबीसी नेपाली सेवाबाट)