प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

402
views

काठमाडौँ, १२, फागुन । संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनस्थापनाको फैसला सुनाएको हो । बहस सुनुवाइ सकिएपछि मंगलबार सर्वोच्चको संवैधानिक इजालसले यस्तो फैसला सुनाएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी सहभागी थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बेलुका फैसला सुनाएका हुन् । यो फैसलाको पुनरावलोकन नहुने व्यवस्था छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।