राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

456
views

कास्की । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओलीलाई साथ दिएका कारण आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिए ।

गण्डकी प्रदेशमा तीन सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।

आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेमा आफूहरूले साथ दिने पुरीले बताए ।  आफूहरू केपी ओली नेतृत्वको एमालेबाहेकको गठबन्धनमा जाने पनि बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् ।

सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । मुख्यमन्त्री गुरुङलाई पद जोगाइराख्न अब तीन सांसदको समर्थन आवश्यक पर्छ ।

गण्डकी प्रदेशमा कांग्रेस, माओवादी र जसपाले सरकार गठनका लागि पहल थालिसकेका र जनमोर्चाले पनि ओलीविरुद्ध गठबन्धनलाई समर्थन जनाउने भनेकाले गण्डकी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावना बढेको छ ।