एमाले फुट जोगाउन दोस्रो तहका नेता सक्रिय : सोझिएलान त ओली ?

1128
views

काठमाण्डौं, २४, बैशाख । सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै प्रधानमन्त्री ओली आफ्नै पार्टीको दबाबमा छन् । माधव नेपाल–खनाल समुहलाई भित्ता लगाउँदै आएका ओलीको भविश्य अन्ततः सोही समुहको निर्णयमा अल्झिएको छ । यसैलाई मध्य नजर गर्दै नेकपा एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन सक्रिय बनेका छन् ।

विभाजनको अन्तिम मोडमा पुगेका बेला आजै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी भएको छ भने यसअघि आपसी छलफल गरेका नेताहरुले नेतृत्वलाई लचक बन्दै सहमति जुटाउन दबाब दिएका छन् ।

हिजो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए ।

आज राष्ट्रिय सभाको एक सिटका लागि उम्मेदवारी दिनुपर्ने भएकाले साझा उम्मेदवार बनाउने विषयमा हिजो छलफल भएको र आज पनि छलफलको तयारी भइरहेको नेताहरुले बताएका छन् । आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा छ ।

अध्यक्ष ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ । एमाले फुटको नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ओली र नेपालसँग बेग्लाबेग्लै छलफल समेत गर्नुभएको छ ।

एमाले विभाजनको संघारमा पुग्दै गर्दा माधव समुहकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले भन्नुभएको छ हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।
हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।

तात्कालिन नेकपा छँदै पार्टी एकता जोगाउन नसकेका ओलीले माधव–खनाल समुहसँग कसरी प्रस्तुत होलान त्यो दोस्रो तहका नेताहरुमा पनि भर पर्दछ । प्रचण्ड–माधव नेपाल–खनाल समुहलाई तिल्के गोरुको भित्तो ओधार्ने संज्ञा दिदैं आएका ओलीको कथन आफैलाई सावित गर्लान वा फुट संघार जोगाउलान प्रश्न उब्जिएको छ ।