देउवाको गृहजिल्लामा कांग्रेस नेताको रिले अनशन

512
views

डडेलधुरा, ८, असोज । डडेलुधुरामा नेपाली कांग्रेसका नेता कार्यकर्ता विहिबारदेखि रिले अनशन बसेका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका हुन् ।

धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबर्जस्ती वडा अधिवेशन गराइएको भन्दै संस्थापन पक्षका नेता-कार्यकर्ताहरु रिले अनशनमा बसेका हुन् ।

वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि सुनुवाई नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेल्धुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले बताए ।

‘क्रियाशील सदस्यहरुको अधिकार पुनर्बहाली नभएसम्मका लागि आन्दोलनस्वरुप असोज २ गतेको जिल्ला कार्य समितिको आधिकारिक र बहुमतको निणर्यअनुसार रिले अनसनमा बसेको बताए ।

‘हटाइएका क्रियाशील सदस्यता कायम गर, अवैधानिक ढंगले थपिएका सदस्यता खारेज गर, कथित अवैधानिक वडा अधिवेशन बदर गर, वैधानिक वडा अधिवेशनको मिति तय गर भन्ने माग राख्दै एकपक्षीय गरिएको वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवै निकायलाई लिखित जानकारी पठाएको पनि स्पष्ट पारे ।

डडेल्धुरामा भाद्र २५ गते वडा अधिवेशन गरिएको थियो ।