‘अखण्ड भारत’को नक्सामा कपिलवस्तु र लुम्बिनी

446
views

काठमाण्डौ, १६, जेठ । भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनी समेटेपछि विवाद सुरु भएको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’को भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनी समेटेको भन्दै यस्ले कुटनीतिक विवाद सिर्जना गरेको बताउनुभएको छ ।

नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई समेत भित्तेचित्रमा भारतले आफ्नै भू–भाग जसरी दर्शाउँदा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उहाँको भनाइ छ । भट्टराईले ट्विटमा लेख्नुभएको छ ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्छ । यो भित्तेचित्रको अभिप्राय र सन्देशलाई भारतले बेलैमा प्रस्ट पार्नुपर्ने देखिन्छ ।’

भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।