भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव

236
views

काठमाण्डौ, २४, कार्तिक । भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव देखिएको छ । गएको शुक्रवार मध्यराति भूकम्प गएको जाजरकोट र रुकुम पश्चिमका प्रभावित धेरैजसोले अहिलेसम्म एउटा त्रिपाल समेत पाउन सकेका छैनन्। कतिपय ठाउँमा त्रिपाल, ब्लाङ्केट लगायतका राहत सामग्री थोरै पुगेको छ भने कतिपय ठाउँमा पुगेका सामग्री पनि पहुँच भएकाले मात्रै पाएका त्यहाँ रहेका उज्यालो सहकर्मीले बताएका छन् ।

जाजरकोटमा राजनीतिक पहुँच भएकाहरु एउटैले तीन÷चार वटा पाल पाउँदा नहुनेहरु खुला आकाशमुनि चिसोमा छन् । उनीहरुले चिसोबाट जोगिनका लागि पाललगायत न्यानो कपडा वितरण गर्न माग गरेका छन् ।

कुशे गाउँपालिकाका वडा नम्बर ५ मा आठ सय घरधुरी प्रभावित रहेकोमा जम्मा २ सय ६० वटा पाल वितरण गरिएको छ । अन्य ठाउँको अवस्था पनि उस्तै छ ।

रुकुम पश्चिममा पनि पाल, ब्लाङ्केटलगायतका सामग्रीको अभाव रहेको छ । राहत वितरणमा सन्तुलन मिलाउन नसक्दा र आवश्यक परेकाले राहत नपाउँदा समस्या झन् बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र जाजरकोटले प्राप्त भएका पाललगायत राहतका सामग्री प्रभावितलाई बाँडिरहेको जनाएको छ । तर, केहीले राहत पाए पनि दुर्गम क्षेत्रका धेरैले राहत पाएका छैनन् ।

यस्तै, भूकम्प प्रभावित क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले बेलैमा तातो न्यानोको व्यवस्था गर्न मौसमविद्ले सुझाव दिएका छन् । खुला क्षेत्रमा बसिरहेका उनीहरुलाई वर्षा र हिमपातले थप समस्यामा पार्नसक्ने भन्दै तत्काल तातो न्यानो कपडाको व्यवस्था गर्न मौसमविद् शान्ति कँडेलको सुझाव छ । एक हप्तादेखि खुला ठाउँमा रहेका भूकम्प पीडितहरुलाई चिसोले थप असर पार्न सक्ने देखिएको छ ।

चिसो र खानपान नमिल्दा कतिपय प्रभावित बिरामी पर्न थालेका छन् । धेरैजसोलाई रुघाखोकी लागेको छ । चिसोका कारण सुत्केरी, गर्भवती, दीर्घरोगी र बालबालिका धेरै प्रभावित भएका छन् ।