मतदाता नामावलीमा नाम दर्ता गराउने म्याद साउन ३२ सम्म

607
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ४, श्रावण । स्थानीय तहको निर्वाचनपछि हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन यहि साउन १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ ।
निर्वाचन आयोगको बैठकले मुलुकका ६६९ स्थानीय तह तथा ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गराउनसक्ने व्यवस्था गरेको हो ।
आयोगको पछिल्लो निर्णयअनुसार ७५ वटै जिल्ला सदरमुकामस्थित स्थानीय तहका मतदाताले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सो सेवा प्राप्त गर्न सक्नेछन् ।
रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गराउनसक्ने व्यवस्था समेत गरिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई हाल कायम रहेका गाउँपालिका तथा नगरपालिकासम्म पु¥याई सुगम तथा प्रभावकारी बनाउने निर्णय भएको छ ।”
हाल जिल्ला निर्वाचन कार्यालयबाट मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था रहेको थियो । बाह्य जिल्ला दर्ता (ओडिआर) कार्यक्रम निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर सञ्चालन गर्ने आयोगले जनाएको छ ।