माओवादीले सरकार नछोडेपछि खुस्कियो जिम्मेवारी

716
views

नवदृष्टि संवाददाता
काठमाडौं, ३१ असोज । सरकार छोड्ने मनस्थितिमा पुगेको माओवादी देउवाले चुनाव सार्ने संंकेत पाएपछि सरकार नछोड्ने निर्णय गरेको थियो । माओवादी मन्त्रीले सरकार नछोड्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन् ।
एमाले– माओवादीको चुनावी तालमेल र वाम एकता समेतको निर्णयले तातेका देउवाले अन्तत माओवादीलाई सरकार छोड्न दबाब दिने र सरकार नछोडे विनाविभागिय बनाएर राख्ने सोंचमा पुगेका थिए ।
मंगलबार बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा देउवाले जिम्मेवारी खोस्ने चेतावनी दिएका थिए । प्रचण्डले सरकारको जिम्मेवारी पुरा गर्न देउवालाई सुझाएका थिए । चुनाव गर्ने ग्यारेण्टी भए सरकार छाड्ने प्रचण्डको भनाई थियो । तर चुनावको मिति पनि सार्ने र सरकार पनि छोड्न दबाब सिर्जना गर्ने देउवाको कार्यशैली प्रति प्रचण्ड आक्रमक बन्दै आफ्ना मन्त्रीलाई सरकार नछाड्न निर्देशन दिएका थिए ।
प्रधान मन्त्रीसँग तात्तिएका प्रचण्डले सरकार छाडेर पनि निर्वाचन हुन्छ भने सरकार छाड्ने भन्दै माओवादी मन्त्रीले राजीनामाको तयारी गरिरहेका बेला निर्वाचन आयोगबाट देउवाले चुनाव सार्ने योजना बनाएको सूचना पाएको भन्दै माओवादीका सबै मन्त्रीको राजीनामा रोकिएको थियो ।
प्रचण्डले पूर्व सहमितको स्मरण गर्दै वामसँग चुनावी तालमेल गरेपनि काँग्रेसलाई दिएको सर्मथन फिर्ता नगर्ने बारम्बार दोहो¥याएका थिए भने फिर्ता लिन समेत चाहेका थिएनन् । तर, काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले वाम तालमेलको झोकमा माओवादी मन्त्री हटाउने निर्णय गर्दै राप्रपा अध्यक्ष कमल थापा सहित मन्त्रीमण्डल विस्तार गरेका थिए ।
सत्तारुढ माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गर्ने निर्णय गरेपछि रुष्टिएका देउवाले मन्त्रीपरिषद् विस्तार गरेपछि शनिबार साँझ राप्रपा अध्यक्ष कमल थापासहित चार मन्त्री र चार राज्यमन्त्रीले सपथ लिइसकेका छन् ।
प्रधानमन्त्रीको यो पछिल्लो कदमले चुनावी परिस्थितिका बारेमा गम्भिर आशंका पैदा गर्नुको अदवा संवैधानिक संकट समेत देखा पर्ने आँकलन गर्न थालिएको छ ।