एसीसी यू–१६ः नेपालको लगातार दोस्रो जित

796
views

मंसिर, २६ गते । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा मंगलबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालका तृप्तराज दासले सर्वा्धिक २७ रन जोडे। त्यस्तै, राजन मगरले १७ तथा सुनिल भण्डारी र विशाल विक्रम केसीले समान ११–११ रन जोडे ।

बलिङमा हङकङका नर्सुला रानाले ३ विकेट लिए । त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै जोड्न सक्यो ।

हङकङका आर्यन शरद शेट्टीले २४ रन तथा कालहन मार्क चल्लुले १६ र आरुष भागवतले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका प्रतिश जिसीले ३ तथा अजय कुमार लुनियाले २ विकेट लिए । यस्तै निखिल कुमार सिंह र नारायण जोशीले समान १–१ विकेट हात पारे ।