नेतृत्व र भागवन्डाले बाम एकता धरापमा

327
views

काठमाडौं । एमाले र माओवादीबीचको एकता प्रक्रिया एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ । राष्ट्रियसभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएपछि वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको छ । तर, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ । माले अध्यक्ष ओली सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने भएकाले एकीकृत पार्टीको नेतृत्वमा माओवादीले दाबी गरेको छ । तर, एमालेले भने महाधिवेशनअगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ ।

स्रोतका अनुसार एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने विकल्प प्रस्तुत गरेको छ । केन्द्रमा दुवै पार्टीका शीर्ष नेताहरु रहेको महाधिवेशन तयारी सचिवालय बनाएर ६०–४० कै अनुपातमा दुवै पार्टीको केन्द्रीय समिति मिलाएर महाधिवेशन आयोजक समिति बनाएर जान सकिने प्रस्ताव गरेको छ । ओलीनिकट नेताहरू शंकर पोखरेलले महाधिवेशनअघिको संक्रमणकालीन चरणमा दुवैलाई पार्टी प्रमुख मानेर जान सकिने विकल्प बहसका रुपमा अघि सारिसकेका छन् ।

दुवै पार्टीबाट तीन सयदेखि ३५० जनासम्मको तयारी समिति बनाएर जान सकिने एमालेको विकल्प छ । त्यस्तै, महाधिवेशन तयारीका सन्दर्भमा दस्ताबेज लेखन समिति, मातहत कमिटी र भ्रातृ संगठन एकीकरण टुंग्याउने गरी सांगठनिक एकता तयारी समितिलगायत समिति बनाएर जान सकिने विकल्पमा पनि छलफल चलिरहेको दुवै पार्टीका नेताहरूको दाबी छ । आजको नयाँपत्रिका दैनिकबाट