बेनी–जोमसोम सडक स्तरवृद्धिको काम तिव्र गतिमा

821
views

म्याग्दी २० पुस । ४ नम्बर प्रदेशको लाईफ लाईन कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरवृद्धिको कामले तिब्रता पाएको छ ।
नवलपरासीको बर्दघाट देखि मुस्ताङको कोरला सम्मको उत्तर दक्षिण जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रेका लागि फराकीलो बनाउने काम तिब्र बनेको छ ।

बेनी जोमसोम सडकको चार वटा खण्डमा स्तरवृद्धिको काम भैरहेको छ । चिसोका कारण ११० किलोमिटर दुरीको जोमसोम कोरला खण्डको काम रोकीएपनि म्याग्दी खण्डमा सडक फराकीलो बनाउने काम तिब्र रुपमा अघि बढेको आयोजनाका इञ्जिनियर प्रदिप निरौलाले बताउनुभयो ।

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ वटा डोजर र एक हजार जना मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकीलो बनाउने काम गरिरहेको बताउनुभयो । बैसरी, दुवाडी, दाना, तितर, काभ्रेभिर क्षेत्रमा सडक फराकीलो बनाउन पर्खा लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भैरहेको छ ।

२०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मिटर फराकीलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजहरुलाई विस्थापित गरेर पक्कि मोटरेबल पुल निर्माण गरिने भएको छ ।
बेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ । नाली सहित ११ मिटर चौडाई रहने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने ईञ्जिनियर निरौलाले बताउनुभयो ।

यो सडकलाई प्रदेश नम्बर ४ को “भाग्यरेखा” मानिएको छ । सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । दुई लेनको सडक बनाउनका लागि हाल पाँच मिटर चौडाई रहेको सडक ११ मिटर फराकीलो बनाउन पर्खाल लगाउने र भित्ता कटिङको काम भैरहेको छ ।