तरकारी खेतीबाट ६० लाखको घडेरी, मासिक १ लाख आम्दानी

1281
views

लक्ष्मण सापकोटा
पर्वत, १०, वैशाख । यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट ६० लाखको घडेरी खरीदका साथै मासिक एकलाख आम्दानी गर्न सफल भएका छन् । पर्वतको जलजला गाउँपालिका स्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट आम्दानी गर्न सफल भएका हुन् । उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक एक लाखभन्दा बढीको आम्दानी गर्न थालेका हुन् । एसएली उत्तिर्ण गरेका उनले विदेशको ५० डिग्रीको घाम खानुभन्दा आफ्नै ठाउँको परिश्रम खानु उत्तम भएको बताए । कृषि व्यावसायबाटै सापकोटाले छोराछोरीलाई सुविधा सम्पन्न निजी विद्यालयमा पढाउने गरेको बताए । व्यक्तिगत फर्ममा करिब रु ३० लाख र सामूहिकमा रु २५ लाख लगानी गरेको उनी बताउँछन् । १३ रोपनीमा व्यक्तिगत फर्म र १८ रोपनीमा सामूहिक फर्ममा सेयर लगानी गरेका सापकोटाले सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।
‘मौसमी भन्दा बेमौसमी तरकारी उत्पादन हुन्छ सापकोटाले भने उत्पादित तरकारी बागलुङ, कुश्मा, बेनी, मुस्ताङ, पोखराको बजारमा बिक्री हुने गरेको छ ।’ नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने सापकोटाको भनाई छ । ‘यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ,’ उनले भने, ‘बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।’ सापकोटालाई जिल्ला कृषि विकास कार्यालय पर्वतले युवा लक्षित कार्यक्रम अन्र्तगत ४० हजार रुपैयाँ र नेपाल सरकारको व्यावसायिक कृषि आयोजना प्याकबाट १० लाख रुपैयाँ नगद उपलब्ध गराइएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । उनलाई कृषि विकास कार्यालय पर्वतले प्लाष्टिक पोखरी र मिनिट्याक्टर समेत उपलब्ध गराएको छ ।
सापकोटाले गरेको मेहनत निकै प्रशंसनीय रहेको जिल्ला कृषि विकास कार्यालय, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीको भनाई छ । सापकोटाले कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेको रेग्मीको भनाई छ । सापकोटालाई जिल्ला कृषि र व्यावसायिक कृषि आयोजनाले सघाएको छ । करिब रु १० लाख अनुदान सहयोग उपलब्ध गराएको आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।
नमुना फर्म भएकाले विभिन्न ठाउँबाट किसान हेर्न आउने गरेका छन् । आउने किसानलाई प्रविधि र सीप सिकाउने गरेको अर्का किसान टीकाराम सापकोटाले बताए ।