‘दक्षिण कोरिया र उत्तर कोरियाबीच निरन्तर वार्ता’

715
views

प्योङयाङले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिन थप समय उपयोग गर्न खोजेको विश्वव्यापी चेतावनीका माझ दक्षिण कोरियाले उत्तर कोरियासँग स्पष्ट दृष्टिकोणसहित वार्तालाई निरन्तरता दिने बताएको छ।

दक्षिण कोरियाली विदेशमन्त्री गाङ ग्याङ ह्वाले सहमति भएपनि विश्व परिवेशमा परमाणु संकटसँग जुध्न उत्तर कोरियामाथिको प्रतिबन्ध कायमै रहेको बताइन् । यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले सोल र उसका साझेदारहरूबीच फुट ल्याउने प्रयास गरिरहेको बताएका थिए ।

यसअघि उत्तर र दक्षिण कोरियाले अर्को महिना हुन लागेको शीतकालीन ओलिम्पिक्समा एउटै झण्डामुनी सँगसँगै मार्च गर्न सहमति जनाएका थिए ।

दुई देशबीच दुई वर्षभन्दा बढी समयपछि भएको पहिलो वार्तापछि दुवै देशले संयुक्त आइस हकी टोली बनाएर प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । दक्षिण कोरियाली विदेशमन्त्री ह्वाले भनिन्, “समग्रमा यो एकदमै सकारात्मक परिस्थिति हो, मलाई लाग्छ हामीले सबै विषयको व्यवस्थापन एकदमै ध्यान दिएर गर्नुपर्छ, तर हामी एकदमै विश्वस्त छौँ हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ ।“

उनले पछिल्लो सहमति खेलकुद, दक्षिण कोरिया र अन्तराष्ट्रिय समुदाय सबैका लागि सकारात्मक भएको जनाइन् । उनले उत्तर कोरियाली नागरिकलाई आवश्यक मानवीय सहायताबारे भने आफू सचेत रहेको बताइन् ।

एकता
यसअघि अमेरिकी विदेशमन्त्री टिलर्सनले अमेरिका र चीनसहितका उसका साझेदारहरू उत्तर कोरियाली परमाणु हतियारको जोखिमविरुद्ध अहिलेको जति एकताबद्ध विगतमा कहिल्यै नभएको बताएका थिए ।

उनले चीनले प्योङयाङविरुद्ध कडा नीति अवलम्बन गरिरहेको बताए । सोल र उसका साझेदारहरूबीच फुट ल्याउन अहिले उत्तर कोरियाले गरिरहेको प्रयास दक्षिण कोरियालीहरू विफल बनाइदिने विश्वास उनले व्यक्त गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रसंघीय प्रतिबन्धहरू छल्न उत्तर कोरियालाई रूसले मद्दत गरिरहेको बताएका थिए ।