बेपत्ता किशोर ७ दिनसम्म जंगलमै, बाबु भनेर बोलाउँदा धरधरी रोए

570
views

काठमाडौँ । ललितपुर–फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका १७ वर्षीय जोन तामाङ ७ दिनपछि घनाजंगलभित्र अर्धचेत अवस्थामा फेला परेका छन् । ‘रेस्क्यु थ्री साउथ एसिया’ को टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेट्टाएको थियो ।

‘उनी भिरालो ठाउँमा ७० डिग्रीको कोणमा अडिएका थिए,’ फेला पार्ने स्वयंसेवी संस्था ‘रेस्क्यु थ्री साउथ एसिया’ का क्षेत्रीय निर्देशक चन्द्र आलेले भने, ‘अर्धचेत अवस्थामा थिए । देख्नासाथ मैले बाबु भनें, उनले आँखा खोले । मैले अँगालोमा बेरें । उनी धरधरी रोए ।’ उनका टोलीमा धेरै जना भए पनि फरक–फरक दिशातिर खटिएका थिए । उनले तत्काल रेडियोमार्फत टिमलाई खबर गरे । ‘लोकेसन’ बताउन नसक्दा अर्का एक सहकर्मीको सहयोगमा उनी बोकेर अघि बढे ।

‘कडा जंगल, सिरुपाते खुकुरीले फाँडदै र्झयौं,’ उनले भने, ‘फुल्चोकी डाँडासम्म आइपुग्दा साढे ८ बज्यो ।’ काँडेझाडी फाँड्दै आएका आलेका हातभरि चोटैचोट देखिन्थे ।

त्यतिन्जेल उनले जोनका बाबुआमालाई खबर गरिसकेका थिए । उनीहरू फुल्चोकीको फेदमा कुरिरहेका थिए । ‘माया मारिसकेका थियौं, भेट्दा हर्षका आँसु थामिएनन्,’ उनका बुवा गौतम तामाङले भने । जोनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

उनी हराएयता चिसो खुब बढेको छ । उनलेताता लुगा लगाएका कारण सुरक्षित रहेको आलेले अनुमान गरे । ‘समूहबाट छुटेर चिप्लिएर लडेकोहुन सक्छ । सडकबाट करिब सय मिटर तल थिए बाबु,’ उनले सुनाए, ‘भाग्यवश चोट कतै लागेको छैन । एउटा जुत्ता खुस्किएको थियो । गोलीगाँठो हल्का सुन्निएको देखिन्छ ।’ फुल्चोकीको ‘डेन्जर जोन’ लेखिएको ठाउँबाट झन्डै एक किमि पूर्वतर्फ भीरबाट उनी लडेका थिए । आजको कान्तिपुर दैनिकबाट