मन्त्रालय सङ्ख्याको टुङ्गो नलाग्दा मन्त्रीमण्डल विस्तारमा सकस

720
views

काठमाण्डौ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्न सकेनन् । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि आजका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको हो ।

एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहान वार्ता भएको थियो । आजै बाँडफाँट टुङ्ग्याएर मन्त्री मण्डल विस्तार गर्ने र साँझसम्म नयाँ मन्त्रीहरुको शपथग्रण गराउने योजनामा प्रधानमन्त्री ओली थिए ।

तर मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्नै सकेन ।

‘अध्यक्षद्वयको बैठक मन्त्रालय र मन्त्रीको संख्या तय गर्न केन्द्रित भएको रहेछ’ माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश पोखरेलले भने, ‘तर संख्या टुङ्गिन सकेन ।’ संविधानले २५ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । तर, ओली–प्रचण्ड १८ को संख्यामा नबढाई मन्त्री मण्डल विस्तार गर्ने योजनामा छन् ।