काँग्रेस कार्यसमिति बैठकमा देउवाविरुद्ध प्रकाशमानका १९ बुंदा

798
views

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनपछिको परिस्थितिके समीक्षा आरम्भ भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा कांग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र रुपमा समीक्षा गरिदैं छ ।

सभापति देउवाको अध्यक्षतामा भएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत देउवाको कट्टर आलोचकका रुपमा देखिएका प्रकाशमान सिंहलगायतका केन्द्रीय सदस्य सहभागी छन् ।

झण्डै चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको भनाई छ । बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको आलोचना र सभापति देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाउमा छन् ।

यस क्रममा सभापति देउवामाथि प्रकाशमान सिंहले सामयिक र कठोर अभियोग लगाउँदै नेता प्रकाशमान सिंहले १९ बुँदाहरु प्रस्तुत गरेका छन् ।
१. सिद्धान्त र आदर्शको वास्ता नगरी व्यक्तिगत उग्र–राजनीतिक महत्वकांक्षा र सत्ताकेन्द्रित राजनीतिक चरित्र तथा प्रवृत्तिले पार्टीलाई नै सिद्धान्त र आदर्शबाट विचलित बनाएको ।

२. माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन भरतपुर महानगरपालिकामा प्रचण्डपुत्रीलाई मेयरमा जिताउन पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढंगले आत्मघाती निर्णय गरेको ।

३. पाँच महिनाको भारतीय नाकाबन्दीलाई खेपेर कथित लोकप्रियताको उचाइमा पुगेको अवस्थामा प्रचण्डजस्तो धोकेबाज नेतासँग भर परी ओली सरकारलाई असामयिक रूपमा पतन गराई संसदको तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेको।

४. निर्वाचनमा वमा गठवन्धनको प्रतिक्रियास्वरूप पर्याप्त गृहकार्य र सोचविचार नगरी लोकतान्त्रिक गठबन्धनको हल्ला मात्र पिटाएको ।

५. राष्ट्रवादी शक्ति नेपाली कांग्रेसले संविधानसभाले संविधान जारी गरिसकेपछि त्यसमा असुन्तुष्ट भएर ५ महिनासम्म मानवतावादी भावना र अन्तर्रा्ष्ट्रिय कानूनको मान्यताविपरीत गएर भारत सरकारले नेपालमा आर्थिक नाकाबन्दी लगाउँदा समेत भारत रिसाएर भोलिको आफ्नो प्रधानमन्त्री पद जोखिममा पर्ला भन्ने मनोविज्ञानबाट नेपाली कांग्रेसले यसलाई नाकाबन्दीसम्म भन्न सकेन,यो कम दुर्भाग्यको कुरा थिएन । यसकै जगमा तथाकथित ओली राष्ट्रवादको नाममा निर्वाचनमा एमालेलाई जिताए भने यसकै पृष्ठभूमिमा कांग्रेसले नराम्रोसंग निर्वाचनमा पराजय भोग्न विवश भयो ।

६. प्रधानन्यायधीशविरूद्ध व्यर्थसंग महाअभियोग लगाउने कुत्सित प्रयास र सर्वोच्च अदालतको निर्णयविरूद्ध केन्द्रीय कार्यसमितिबाट खेद प्रस्ताव नै पारित गरी घोर सैद्धान्तिक विचलन निम्त्याएको ।

७. पार्टीको विधानलाई निर्ममतवरले उलंघन गरी स्वेच्छाचारी, अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गरेको ।

८. पार्टीको विधानअनुसार २ महिनाभित्र नियुक्त गरिसक्नुपर्ने उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति र पार्टी विभागहरू दुई वर्ष बितिसक्दा पनि पूर्णता दिन नसकेको ।

९. पार्टी विधानको घोर उलंघन गर्दै टिकट वितरण गर्ने निकाय पार्टी संसदीय समिति गठन गरेको ।

१०. निर्वाचन अभियानका क्रममा पार्टीको उमेद्वार पार्टीको चिह्न पाएको निरिह स्वतन्त्र उमेद्वारको रूपमा चुनाव लडेको आम उमेद्वारहरूले महसुस गरेको मैले पाएको छु । निर्वाचन प्रचारप्रसार र व्यवस्थापन यति कमजोर फितलो थियो कि कुरा राखेर साध्ये नै छैन । निर्वाचनमा स्टार प्रचारक वा निर्वाचन अभियन्ता नै थिएन भन्दा हुन्छ ।

११. पार्टीका भातृसंस्थाहरूको निर्वाचनमा कुनै प्रभावकारी उपस्थिति नै रहेन । पार्टी नेतृत्वले अस्वाभाविक हस्तक्षेप गरी कर्मकाण्डी शैलीमा महामिहाधिवेशन गराएकोले पञ्चायतकालका वर्गीय संगठनजस्तो निस्प्रभावी हुन पुगेका छन् ।

१२. कांग्रेसभित्र कायम रहेको कथित ६०र४० को भागबण्डालाई समाप्त गरेर सबैलाई समेटेर पार्टीलाई एक बनाएर लग्छु भन्ने अठोटका साथ १३औं महाधिवेशनबाट पार्टी सभापति बन्नुभएका वर्तमान सभापतिले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एकतावद्ध बनाएर संगठित बनाउनुको बदला गुटलाई नै प्रश्रय दिएका कारण पार्टी इतिहासकै सबैभन्दा कमजोर स्थितिमा आएको छ ।

१३. पार्टीका कार्यकर्तालाई विभिन्न राजनीतिक नियुक्ति र विभिन्न तहमा टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योग्यता र क्षमता आदिको कुनै पर्वाह नगरी गुटगत आधारमा आफ्ना निकट व्यक्तिहरूलाई बढी अवसर दिएर इमान्दार र योग्यलाई पाखा लगाइएको छ ।

१४. तीन तहको निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकाबाहेक सभापति र सभापतिले प्रधानमन्त्रीका हैसियतमा निर्वाह गरेको कार्यसम्पादन र त्यसको शैली तथा उहाँका अभिव्यक्ति आमजनताका बीच व्यापक आलोचनको विषय बन्यो ।

१५. नेपाल प्रहरीको एकजना डीआईजीलाई बढुवा गरेर प्रहरी महानिरीक्षक बनाउने विषयमा पार्टी सभापतिको जुन ढङ्गको रवैया रह्यो त्यसले उहाँको मात्र बदनाम भएन, सिङ्गो पार्टीलाई बदनाम गरेको छ ।

१६. २०७४ असार महिनाको चौथो साता बाढीपीडित निरीक्षण र राहत वितरण गर्न सप्तरी जिल्ला भ्रमणका क्रममा बाढी पीडितलाई सम्बोधन गर्दा अन्य प्रसङ्गमा प्रधानमन्त्रीलाई दिएको ज्ञापनपत्र वाचन गरेर बेइजत गरेको ।

१७. ०७४ असार १८ गते बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्रीका हैसियतमा लज्जास्पद् प्रस्तुति दिएको ।

१८. दुई छिमेकी राष्ट्रसंगको संवेदनशील सम्बन्धलाई ख्यालमा नगरी एउटा गैह्रसरकारी संस्थाको निमन्त्रणा दक्षिण भारतको गोवा भएको एउटा विवादास्पद् कार्यक्रममा सहभागी भएर छिमेकी राष्ट्रसंगको सम्बन्धमा नकारात्मक असर पारेको ।

१९. नेपालको इतिहासमा नै लोक हसाउने गरी प्रधानमन्त्रीका हैसियतमा ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेखाएको ।