समयावधिभित्रै पूनःनिर्माणका काम सम्पन्न–भुसाल

779
views

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर युवराज भुषालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पाँच वर्षका लागि गठन भएको बताउँदै समयावधिमा नै पुुनर्निर्माणका कार्यहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयले आयोजना गरेको भूकम्पको तेस्रो वर्षको स्मृतिमा भुसालले यस्तो बताउनुभएको हो ।

भुसालले निजी घर निर्माण पहिलो प्राथमिकता भएको बताउँदै साँस्कृतिक सम्पदा धरहराको पूनःनिर्माण आगामी १४ महिना भित्रमा गरिसक्ने र जेठको पहिलो साताबाट रानी पोखरीको पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले अन्तराष्ट्रिय रेडक्रस अभियानको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले पुनर्लाभमा आशातीत सफलता प्राप्त गरेको बताउनुभयो ।

थापाले नेपाल सरकारसँग करिब ७ हजार घर निर्माण गर्ने सम्झौता, साझेदारहरुबाट प्राप्त प्राविधिक तथा आर्थिक अनुदान र सहयोगको प्रतिवद्धता अनुसार तीन हजार दुई सय ७७ निजी घरहरु निर्माण सम्पन्न भइसकेको र अधिकांश परिवारले वर्षा अगावै घर सम्पन्न हुने गरी निर्माण कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज ढकालले अन्तराष्ट्रिय रेडक्रस अभियानका अंगहरु पुनर्लाभ गतिविधिहरुमा नेपाल सरकारका मन्त्रालयहरु, यूएनका निकायहरु तथा विभिन्न राष्टिय अन्तराष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेरेसोका महामन्त्री देवरत्न धाख्वाले स्वागत तथा भूकम्पपछि नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित गतिविधिका बारेमा नेपाल रेडक्रस सोसाइटीका भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।