अब नेपालीको प्रतिव्यक्ति आयः १,०३,३००

665
views

काठमाडौं ।प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ।शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको हो।

पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारका कारण रोजगारी, उत्पादन तथा उत्पादकत्व बढ्दा प्रतिव्यक्ति आयमा सुधार आएको पूर्व अर्थसचिव डा। शान्तराज सुवेदीले बताए। ‘नेपालीको औसत आय बढ्नुमा पुनर्निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका निर्माणले लिएको गति, सरकारी खर्चमा भएको बढोत्तरीले नेपालको कुल गार्हस्थ उत्पादन बढ्न जाँदा त्यसको प्रभाव प्रतिव्यक्ति आयमा देखियो’, पूर्व अर्थसचिव डा। सुवेदीले भने, ‘पछिल्लो समय विद्युत् आपूर्ति बढ्न जाँदा उद्योग क्षेत्रको उत्पादन बढ्नुका साथै निर्माणमा प्रगति हुँदै गएको छ।’

उद्योग तथा पूर्वाधार क्षेत्रमा विकास र विस्तार हुँदै जाने, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै यसको उत्पादनमा ध्यान दिने हो भने नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा विकासशील देश तहमा स्तरोन्नति हुने उनको दाबी छ। विकासशील देशमा प्रतिव्यक्ति आय कम्तीमा १२ सय अमेरिकी डलर हुन्छ।

तथ्यांक विभागले समग्र आर्थिक क्षेत्रको गणना गरिरहेको छ। गणनापछि अनौपचारिक क्षेत्र पनि औपचारिक क्षेत्रभित्र प्रवेश गरे भने आर्थिक वृद्धि, जीडीपी, नेपालीको जीएनआई बढाउन यसले अझ सहयोग गर्ने उनले बताए।

मुलुकको आर्थिक वृद्धिदर नजानिँदो किसिमले बढ्दै गएका कारण नेपालीको प्रतिव्यक्ति आयमा बढोत्तरी हुँदै गएको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘नेपालीको आयस्तर बढेकै कारण उपभोग बढ्दा विदेशबाट वस्तु तथा सेवाको आयातमा वृद्धि भएको हो’, उनले भने। विभागले सार्वजनिक गरेको तथ्यांकमा चालु आवमा ९ लाख ४० हजार २ सय १८ जना पर्यटन नेपाल आउन सक्ने बताइएको छ।

पर्यटन आगमनमा भएको वृद्धिले मानिस चलायमान हुँदा यातायात, सञ्चारलगायत क्षेत्र विस्तारका साथै यो क्षेत्रसम्बद्ध उपभोक्ताको संख्या पनि बढेको छ। जीडीपीमा योगदान दिने धानबाहेक अन्य अधिकांश क्षेत्रमा वृद्धि भएकाले प्रतिव्यक्ति आयमा वृद्धि भएको क्षेत्रीले बताए।

अघिल्ला वर्षको तुलनामा नेपालको अर्थतन्त्र विस्तार हुँदै गएको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए। जीएनआई बढ्नु राम्रो कुरा भएको टिप्पणी गर्दै उनले भने, ‘तथ्यांक मात्रै बढेर हुँदैन, प्रतिव्यक्ति आय बढेको हरेक नेपालीले महसुस गर्न पाउनुपर्छ।’ यसलाई टिकाएर अझ बढोत्तरी गर्नेतर्फ हामी लाग्नुपर्ने उनको भनाइ छ।

एकै वर्षमा एक सय ३८ डलरले आय बढ्नाले पहिला विश्लेषण गरिएको तथ्यांक सही थियो कि थिएन भन्ने आशंका उब्जाएको उनले बताए। आर्थिक गतिविधि बढे पनि अर्थतन्त्रमा ठूलो सुधार भने आएको छैन। नेपालको अर्थतन्त्रमा १३।७९ प्रतिशत मात्रै वृद्धि भएको बुधबार सार्वजनिक गरिएको तथ्यांकले देखाएको छ भने जीएनआई १२।२८ प्रतिशतले वृद्धि भएको छ। अन्नपूर्ण पोष्ट