‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

1128
views

विराटनगर १३, बैशाख । ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ खोज्न नेपाल प्रहरीले इन्टरपोललार्ई गुहारेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुनकाण्डका मुख्य नाईके उप्रेती फरार भएपछि अन्तराष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ गुहार्नु परेको छ ।

उप्रेतीको खोजीकार्यका लागि अन्तराष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’मा सूचना जारी गर्न लागिएको हो । नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका ‘गोरे’ इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् ।

मोरङ प्रहरी प्रमुख अरूणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए ।

२३ जनालाई ८ दिन म्याद थप

३३ किलो सुन काण्ड र सनम शाक्य हत्यामा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलासहित २३ जनालाई जिल्ला अदालत मोरङले थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ । २३ जनालाई म्याद थपका लागि मोरङ प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

म्याद थप गर्न ल्याइएका २२ जनालाई प्रहरीले हतकडी लगाएर ल्याएको थियो भने निरौलालाई हतकडी नलगाई ल्याइएको थियो । ३३ किलो सुन काण्ड र भरिया शाक्यको हत्याको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिले आइतबार पूर्वडीआईजी निरौलालाई पक्राउ गरेको थियो । पक्राउ परेको मितिले २ दिन म्याद थपेर अन्य २२ जनासँगै म्याद मिलान गरेको प्रहरीले मंगलबार निरौलासहित २३ जनालाई अनुसन्धानका लागि ८ दिनको म्याद थप गरेको हो । प्रहरीले निरौलासहित राजेन्द्रकुमार शाक्य, तुलाराम थारू, अमरमान डंगोल, राजन कुमार, राजन थापाका म्याद थप गरेको होे ।

प्रहरीले चाचाजी भन्ने महावीर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, र माधव भनिने मदनप्रसाद घिमिरेलाई म्याद थप गरिएको हो ।

अदालतमा बुझाउँदै प्रहरी

३३ किलो सुन काण्ड र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको प्रहरीले यही वैशाख १९ गते अदालतमा मुद्दा बुझाउने तयारी थालेको छ । ‘संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान’ मुद्दामा ५२ दिनयता अनुसन्धान गरिरहेको मोरङ प्रहरीले २ महिना पुगेपछि मुद्दा अदालतमा बुझाउने बताइएको छ ।