सांसद विकास कोषका लागि प्रत्येक सांसदलाई ५० लाख दिन प्रदेश सांसदको माग

888
views

पोखरा । प्रदेश ४ को बिहीबारको बैठकमा प्रदेश सांसदहरुले सांसद विकास कोषका लागि ५० लाख रुपैयाँ माग गरेका छन् । संघीय सरकारले प्रंशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सांसदलाई ५० र ५० लाख रुपैयाँ मागेका हुन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषका लागि भन्दै प्रदेशसभा सदस्यले चालू आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट ५० लाख रुपैयाँ छुट्याउन माग गरेका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा पेस गरेको विनियोजन विधेयकमाथि छलफलमा बोल्ने प्रदेशसभा सदस्यले सरकारले मात्रै सबै क्षेत्रको विकास गर्न नसक्ने भन्दै निर्वाचन क्षेत्र र सांसद विकास कोषका लागि रकम विनियोजन गर्नु पर्नेमा माग गरे ।

‘सरकारले ठूला आयोजनामा पैसा विनियोजन गर्छ । साना तिना आयोजनाहरु सरकारको नजरमा पर्दैन, तनहूँका सांसद दोवाटे विश्वकर्माले भने–जनताका दैनिकीसँग जोडिने साना आयोजनाहरुमा पनि पैसा चाहिन्छ । त्यसका लागि सांसद विकास कोष सञ्चालन गर्नुपर्छ ।’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ५० लाखका दरले बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

अर्की सांसद आशा कोइरालाले पनि सांसदको रोहवरमा साना आयोजनामा बजेट दिने ब्यवस्था हुनुपर्ने माग गर्दै रिन् । साना ठूला योजनामा सबैको उपस्थिती जनाउनका लागि सांसद विकास कोष आवश्यक छ ।

नवलपुरकी सांसद ओमकला गौतमले सरकारको बजेट ब्यवहारिक भएको भन्दै निर्वाचन क्षेत्र विकास कार्यक्रम समेट्न आग्रह गरिन् । सांसद कृष्णचन्द्र नेपालीले जनताले सरकार भएको महशुस गर्ने गरी बजेट ल्याउनुपर्ने सुझाव दिए ।