यातायात व्यवसायीद्वारा यातायात सञ्चालनमा रोक

939
views

काठमाडौं २१ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै सवारी संचालन बन्द गर्नुपरेको बताए ।

कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने जनाएका छन् । बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का महासचिव कृष्ण आचार्यले जानकारी दिए । ‘हामीलाई राज्यले सुरक्षा दिन्छ भने हाम्रो कम्पनीअन्तर्गतका सबै सवारीसाधन सडकमा गुडाउँछौँ,’– उनले भने ।