संसद् विशेष समयः कसले के भने ?

689
views

काठमाडौँ, २६, वैशाख । संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद पवित्रा निरौलाले इलाम जिल्ला रोम गाउँपालिका निवासी ७७ वर्षीय वृद्ध महिलामाथि हालै भएको बलत्कार घटनाप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बलात्कार गर्ने अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत माग गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेलले भारतीय प्रधानमन्त्रीको आसन्न नेपालको भ्रमणका बारेमा सरकारले सदनमा जानकारी दिन माग गर्दै नेपाल र भारतबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।

सांसद सुदन किरातीले संखुवासभा जिल्लावासीले जस्तै अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्राप्त हुने लाभ भोजपुर जिल्लावासीले पनि पाउनुपर्ने माग गर्नुभयो ।

सांसद राजकिशोर यादवले तराईमा वर्षात्का समयमा बाढी तथा हिउँदमा हावाहुरीका कारण हुने आगलागीको चपेटालाई अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमाशंकर अरगरियाले गत राति आएको हावाहुरीले प्रदेश नं. २ का अधिकांश जिल्लामा खेतीबाली नष्ट पारेको किसानलाई राहत दिन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले तराई मधेशमा गत राति आएको हावाहुरीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानलाई राहत दिन र भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नरबहादुर धामीले भारतीय नेसनल पार्कमा खटिएका भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको पुुनर्वासका स्थानीयवासीमाथि अभद्र व्यवहार गरेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भन्नुभयो ।