वैवाहिक बन्धनमा राजकुमार ह्यारी र मेगन

730
views

एजेन्सी लन्डन । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । राजधानी लन्डनबाट झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा शनिबार उनीहरूको विवाह सम्पन्न भएको हो । वैवाहिक समारोहमा विश्वभरका करिब ६ सय विशिष्ट पाहुना सहभागी भएका थिए । विवाह गरिएको विन्डसोर क्यास्टलबाहिर हजारौँ दर्शकले सडकका दुई किनारामा रहेर खुसी साटासाट गरेका थिए ।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एक–आपसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका पादरी जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । उनीहरूको विवाहलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा पुगेपछि ह्यारीका पिता युवराज चाल्र्सले मार्कललाई हात समाएर वैवाहिक समारोहमा लगेका थिए । विवाह समारोहस्थलमा आफ्ना दाजु विलियम पनि ह्यारीसँगै पुगेका थिए । विवाहको खुसीयालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएकोे छ ।

राजकुमार ह्यारी र मार्कल सन् २०१६ को जुलाईदेखि प्रेम सम्बन्धमा थिए । सोही वर्षको नोभेम्बरमा सन् २०१६ को नोभेम्बरमा लन्डनको केन्सिङ्टन प्यालेसले मेगन ह्यारीकी प्रेमिका भएको पुष्टि गरेको थियो । ह्यारीले त्यतिवेलादेखि नै मेगनको सुरक्षाबारे चिन्ता र चासो देखाउन थालेका थिए ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोलक्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बरमा पहिलोपटक सार्वजनिक रूपमा देखा परेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृंखलामा काम गरेकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् । त्यसलगत्तै लन्डनमा ह्यारी र मेगन हातमा हात जोडेर सार्वजनिक रूपमा घुमेको तस्बिर पहिलोपटक सार्वजनिक भएको थियो ।

अ‍ेमेरिकी नायिका मेगनको जन्म ४ अगस्ट १९८१ मा भएको हो । क्यालिफोर्नियामा हुर्केकी उनी हाल क्यानडाको टोरन्टोमा बस्छिन् । सानैदेखि नै मेगनले अमेरिकी टेलिभिजन सो मेरिड विद चिल्ड्रेनमा अभियन गरिन् । उनका बाबु भिडियो निर्देशक थिए । लस एन्जल्सकै प्राथमिक विद्यालयमा पढेकी उनले सन् २००३ मा नर्थवेस्र्टन युनिभर्सिटी स्कुल अफ कम्युनिकेसनमा सञ्चार विषयमा स्नातक गरेकी छिन् ।

सन् २०१७ मा भेनिटी फेयर म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा मेगनले आफू ह्यारीसँग गहिरो प्रेममा परेको खुलासा गरेकी थिइन् । त्यसो त उनको ह्यारीसँग हुने विवाह पहिलो हुनेछैन । मेगनले सन् २०११ मा फिल्म प्रोड्युसर ट्रिभोर इंगलसनसँग जमैकामा विवाह गरेकी थिइन् ।

ट्रिभोरसँग सात वर्ष लामो अफेयरलाई उनले विवाहमा परिणत गरेकी थिइन् । तर, उनीहरूको दाम्पत्य जीवन सफल हुन सकेन । विवाह गरेको दुई वर्षमै यो जोडी दुई किनारा लागेको थियो । मेगनले क्यानेडेली हकी स्टार मिचेल डेल जोटोसँग निकट सम्बन्ध बढाएको आरोप ट्रिभोरले लगाएका छन् । तर, आफूमाथि झुटो आरोप लगाएको मेगनको गुनासो छ ।