कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा

238
views

काठमाडौं- कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ । ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडाैमार्फत सिफारिस मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडांैले उनीलगायत प्रक्रिया पुगेका कैदीको कैद मिनाहाको सिफारिस कारागार व्यवस्थापन विभागमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयबाट आएको सिफारिसका आधारमा विभागले कारागार नियावलीअनुसार मन्त्रालयमा सिफारिस गरेको हो । विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीले आठ सय बढी कैदीको कैद मिनाहाका लागि मन्त्रालयमा सिफारिस गरिएको बताए । ‘सबैको नाम याद छैन, काठमाडौं जिल्ला प्रशासनबाट आएको नामावली रुजु गरी प्रक्रिया पुगेको हकमा सिफारिस गरिएको हो’, मैनालीले भने ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले उक्त फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुटाउने गरी कारागार व्यवस्थापन विभागले सिफारिस गरेको छ । सरकारले कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई मुक्त गर्न लागिएको हो । तर सर्वोच्च अदालतले अदालतबाट दोषी ठहरिएका ढुंगेलले सर्वोच्चको फैसलाअनुसार आत्मसमर्पण नगरेको अवस्थामा ढुंगेललाई माफी दिन नसकिने जनाएको थियो ।