हेलो सरकारमा गुनासाका चाङ

783
views

काठमाडौं ८ असार । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा चीनदेखि काठमाडौंसम्म रेल ल्याउने सम्झौता गरिरहँदा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारमा भने आधारभूत आवश्यकताका विषयमा उजुरी पर्ने गरेका छन् । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको तथा उपभोग्य वस्तु दूषित र अस्वस्थ भएकोजस्ता गुनासा र उजुरीको चाङ हेलो सरकारमा बढ्दै गएको छ । सरकारले आर्थिक समृद्धिको बहस गरिरहँदा नागरिकले आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तु सही मूल्यमा स्वस्थ उपलब्ध गराउन माग गरेका हुन् ।

सम्बन्धित निकायमा गुनासा पठाइदिन्छौँ, तर कार्यान्वयन हुँदैन
प्रद्युम्न उपाध्याय
प्रमुख, हेलो सरकार इकाइ
अधिकांशले शुद्ध खानेपानी र स्वस्थ दूधका लागि सरकारले ग्यारेन्टी नगरिदिएको गुनासो गरका छन् । त्यस्ता गुनासा हामीले खानेपानी तथा सरसफाइ मन्त्रालय, कृषि विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउने गरेका छौँ ।

राष्ट्रपति र प्रधानमन्त्रीको सवारीबारे आउने गुनासा उहाँहरूको निजी सचिवालय र सल्लाहकारलाई टिपाउने गरिएको छ । यातायात र सडकसम्बन्धी धेरै गुनासा भौतिक योजना तथा यातायात मन्त्रालयमा पठाएका छौँ ।

तर, जनताको गुनासो सुन्ने र समाधान खोज्ने हेलो सरकारको आफ्नै गुनासो छ । सम्बन्धित निकायले जनताका गुनासा सम्बोधन नै गर्दैनन् । अनि हामीसँग जनतालाई दिने जवाफ हुँदैन ।

विद्युत् काटिने, हाफ लाइन आउनेजस्ता उजुरी र गुनासालाई भने विद्युत् प्राधिकरणले जतिसक्दो छिटो सम्बोधन गर्ने गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा यस्ता गुनासा
पानी र दूध
सेवन गर्नै त्रास भयो
प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ । ‘अनुगमनबाट दूधमा अखाद्य वस्तु मिसावटको समाचार आयो, तर त्यस्तो मिसावट गर्नेलाई के कारबाही गरियो र अब दूधको गुणस्तर कस्तो छ भन्ने गुनासा धेरै छन्,’ हेलो सरकार इकाइका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले भने ।

सरकारी कार्यालयका फोन उठ्दैनन्
सरकारी कार्यालयका अधिकांश फोन नउठ्ने गरेको गुनासा पनि उत्तिकै छन् । कार्यालयको वेबसाइटमा राखिएको नम्बरमा फोन गर्दा नउठ्ने र उठाउँदा पनि स्पष्ट सूचना नदिने गरेको गुनासो दर्ता भइरहेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्री राजा–महाराजा हुन् रु
हेलो सरकारमार्फत कतिपय नागरिकले राष्ट्रपति र प्रधानमन्त्रीमाथि पनि प्रश्न उठाएका छन् । राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणदेखि एम्बुलेन्सलाई समेत रोक्ने गरेको र घन्टौँ जाममा राख्ने गरिएको गुनासा दर्ता भएका छन् । ‘राष्ट्रपति, प्रधानमन्त्रीको सवारीमा सर्वसाधारणका साथै बिरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स पनि रोकेर घन्टौँ जाममा राखिन्छ, हेलो सरकारमार्फत धेरैले उहाँहरूलाई सोध्ने गरेका छन्, तपाईंहरू पहिलाको राजा–महाराजाजस्तै हो रु’ प्रद्युम्न उपाध्यायले भने ।

हावादारी समाचारले अन्योलमा परियो
अनलाइन तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिने जथाभावी ‘फेक’ समाचारले अन्योल र त्रास बढाएको गुनासा पनि हेलो सरकारमा परेका छन् । यसलाई नियन्त्रण गर्न माग गरिएको छ ।

निजी स्कुलले भौतिक मापदण्ड मानेनन्
निजी विद्यालयहरूले साँघुरा घर भाडामा लिएर स्कुल चलाएर भौतिक मापदण्ड उल्लंघन गरेको गुनासा पनि छन् । केटाकेटीका लागि स्कुलमा उचित खेल मैदान नभएकाले अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरेका छन् ।

मूल्यवृद्धिले जीवन चलाउनै गाह्रो भो
बजेट भाषणलगत्तै मूल्यवृद्धिसँग सम्बन्धित गुनासा बढेका छन् । उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा दोब्बरसम्म मूल्यवृद्धि भएको गुनासा दर्ता गराएका छन् । तत्काल बजार अनुगमन गरेर सही मूल्यमा कारोबार गर्न लगाउन सरकारसँग जनताको माग छ ।

सार्वजनिक यातायातमा कोचाकोच भयो
सार्वजनिक यातायातमा भोग्नुपरेको सास्तीसँग सम्बन्धित गुनासा उत्तिकै परेका छन् । सवारीसाधनमा सिटभन्दा धेरै यात्रु राख्न नपाउने व्यवस्था गरे पनि नियम पालना नभएको गुनासा पनि छन् । नियम बनाउने, तर कार्यान्वयन नगर्ने स्थिति भयो भन्ने गुनासा पनि सम्बोधन भने हुन सकेको छैन । यस्तै, फुटपाथमा जथाभावी पार्किङ गरिँदा हिँड्ने ठाउँ नभएको गुनासा पनि छन् ।

बौद्ध जाने बाटो खेतजस्तो भयो
बर्खा लागेसँगै बौद्ध जाने सडकको अव्यवस्थालाई लिएर धेरै गुनासा हेलो सरकारमा परेका छन् । हिलैहिलो हुँदा गाडी नै चल्न नसकेको गुनासाको चाङ लाग्ने गरेको उपाध्यायले बताए । यस्तै सडकको धुलोले बढेको प्रदूषणलाई लिएर पनि धेरैको गुनासो छ । यातायातमा लाइसेन्स लिँदा खेप्नुपर्ने समस्यादेखि सडकका खाल्डाखुल्डीको पीडा पनि हेलो सरकारमा थुप्रिएका छन् । नयाँपत्रिकाबाट