पहिले बोल्ने विषयमा सांसदको रमिता

721
views

काठमाडौं, ८, साउन । राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदबीच कसले पहिला बोल्ने भन्ने विवादले बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै सत्तापक्षका सबै सांसदहरुले उठेर बोल्न समय माग गरेको र सभाअध्यक्षले सत्तारुढ दलका सांसदलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएपछि काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले कांग्रेस सांसदलाई बस्न आग्रह गरेपनि कार्यव्यवस्था परामर्श समितिको सहमति अनुसार आफूहरुले बोल्न पाउनुपर्ने भन्दै कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रमुख सचेतक रहेकी सरिता प्रसाइँले बोल्ने नदिए सदन चल्न नदिने अडान राखेकी थिइन् ।

तर, एमाले सांसद भट्टराईले भने आफूहरुले बोल्नका लागि समय पाइसकेकाले बोल्न पाउनुपर्ने भन्दै आफ्नो धारणा राखेका थिए ।उनले भने ’हामीले बोल्नका लागि समय पाइसकेका छौं सदन सुचारु गर्ने वातावरण बनाइदिनुर्पयो अध्यक्षज्यू ।’

यता कांग्रेसका सांसदले उभिएरै विरोध जनाए । अध्यक्षले नेकपाका सांसद भट्टराई र कांग्रेस सांसदलाई पटक पटक बस्न आग्रह गरिरहे । ’सत्तापक्षका सांसदले पहिला उठेर समय माग गरिसकेका छन् उनीहरुलाई बोल्न समय दिइसकेको छु’ प्रतिपक्षी दलका सांसदलाई सम्झाउँदै अध्यक्षले भने,’ त्यसपछि तपाईहरुले बोल्ने समय पाइहाल्नुहुन्छ बसिदिनुस् माननीयज्यू ।’

अध्यक्ष तिमिल्सिनाले सदन सञ्चालन नियमावलीबारे सांसदलाई पटक पटक अवगत गराइरहेका थिए । उनी भनिरहेका थिए ’माननीयहरु, तपाईँहरु आफैँले बनाएको नियमावलीको ख्याल गर्नुस् । यसको मर्यादा ख्याल गर्नुस् । पालैपालो भएर बोलौं । म सबैलाई समय दिन्छु ।’

एकातिर बोल्नका लागि नेकपाका प्रमुख सचेतक भट्टराई उभिरहेका थिए भने कांग्रेसका सांसद भने बैठकको सुरुदेखि नै आफूले बोल्न पाउनुपर्ने माग गरिरहेका थिए । दुबै पक्ष आ–आफ्नो अडानबाट टसमस नभएपछि अध्यक्ष तिमिल्सिनाले बैठक बुधबारसम्मका लागि स्थगित गरे ।