गैरसरकारी निकायलाई सार्वजनिक सुनुवाईको जिम्मा

773
views

महेन्द्र जिसी
पर्वत २७ साउन । फलेवास नगरपालिकाले गैर सरकारी निकायलाई जिम्मा लगाएर वडा तहका सार्वजनीक सुनुवाई अभियान थालेको छ । वडा तहमा कुनैपनि बजेटको अधिकारी नदिई एकलौटी रुपमा आयोजना सकाएको नगरपालिकाको सार्वजनिक सुनुवाईको जिम्मा सामाज कल्याण विकास केन्द्र (सोडेक नैपाल) नामक संस्थालाई जिम्मा लगाएको हो ।

सार्वजनीक सुनुवाई कार्यविधि २०६८ ले नागरिक समाज तथा स्थानीय सञ्चार माध्यमलाई उपयोग गरेर जनता र जन–प्रतिनिधि बीचको सम्बाद सम्पन्न गराउँदै विकासमा रचनात्मक अभ्यास सञ्चालन गराउने व्यवस्था गरेको भएपनि नगरपालिकाले भने पार्टीगत आधारमा गैर सरकारी संस्थालाई जिम्मा लगाएको छ ।

फलेवास नगरपालिका–३ शंकरपोखरीमा गरिएको सार्वजनीक सुनुवाईमा सर्वसाधरणले नगरपालिकाले वर्षभरी नारा मात्र दिएको बताएका छन । उनिहरुले खानेपानीको समस्या रहेको वडामा एक घर एक तरकारी अभियान नारा मात्र भएको बताएका हुन । साईकल चोक चुचुन्देउराली सडक प्रतिपक्ष पार्टीले टयार्क खोलेको भन्दै स्तर वृद्धि नगरेको सर्वसाधरणले गुनासो गरेका हुन ।

उनिहरुले नगरपालिकाले स्थानीय तहका वाडामा कार्यक्रम नदिनु संघीयता नभई निरंकुश भएको आरोप लगाएका छन । स्थानीयहरुले नगरपालिको सडक विस्तारका नाममा बस्ती जोखीममा पारेर थप समस्या नित्याएको गुनासो गरे ।

स्थानीयहरुले स्थानीय सरकारले सेवाका आधारमा करको दायरा तोक्नुपर्नेमा आयआर्जनका कार्यक्रम विनानै जनतालई कर लगाउन अन्याय भएको बताएका छन । स्थानीय खेम गौतमले शिक्षा स्वास्थ्य र सडक खानेपानीको व्यवस्था नभएको वडामा करको अस्वभाविक दायर बढाउनु जनमुखी नभएको बताउनुभयो ।

शिक्षक र पुर्वाधार विना लागू गरिएको अंग्रेजी शिक्षा प्रभावकारी नभएको सर्वसाधरणले बताएका हुन । स्थानीय शिक्षक गणेश बहादुर थापाले मावि तहको जनशक्ति नभएको विद्यालयलाई गुणस्तरीयताका नाममा अंग्रेजी लदाउनु नगरपालिकाको अदुरदर्शी निर्णय भएको बताउनु भयो ।

यस्तै स्थानीय कृष्ण विकले बस्ती नै जोखिममा पारेर सडक विस्तार गराउनुले बाध्यताको बसाई सराई बढने बताउनु भयो । बस्ती नै पातलो भएको वडामा विकासले बसाई सराई दर बढने विकको भनाई रहको छ । स्थानीय खडक बहादुर कार्कीले युवाहरु लक्षित कार्यक्रम नल्याएको नगरपालिकाले विभिन्न शिर्षकमा कर लगाउनुले युवाहरुलाई विदेश पलायन गराएको बताउनु भयो ।

स्थानीयहरुले ग्रामीण भेगमा सञ्चालनमा रहेका लघुवित्त कार्यक्रम र सरकारको चर्को व्याज नियन्त्रण गर्न माग गरेका हुन । उनिहरुले ग्रामिण भेगमा लघु उद्योगलाई दोहोर करबाट मुक्त गर्न तथा युवाहरुलाई लक्षित कार्यक्रम सञ्चालन गर्न विदेशीएका युवाहरुलाई स्वरोजगारमुखी बनाउन माग गरेका हुन ।

प्रतिउत्तरमा नगर उपप्रमुख मञ्जु अधिकारीले नगरपालिका पहिलो वर्षमा रहेका कारण कार्यलय व्यवस्थापनमा धेरै बजेट खर्च भएको बताउँदै नगरविकास भन्दापनि आँफुहरु सक्षम बन्न समय लागेको बताउनु भयो । नगरपालिकाले एक करोड करको अनुमानित बजेट प्रस्तुत गरेको भएपनि गएको वर्षमा ३० लाखमात्र उठाउन सकेको बताउनु भयो ।
सार्वजनिक सुनुवाईमा नगरपालिकाले चालु वर्षमा नगर गुरुयोजना तथा सडक विस्तार गरेको भएपनि आगामी वर्ष देखी आयआर्जन महिला लक्षित कार्यक्रम ल्याउने बताएको छ । नगरपालिका सञ्चालनमा आएपछि स्वास्थ चौकी तथा हेल्थ पोष्टमा औषधीको अभाव भएको कार्यक्रममा सर्वसाधरणहरुले गुनासो राखेका हुन । वडा अध्यक्ष अर्जुन बहादुर कार्कीका अध्यक्षतामा भएको सार्वजनीक सुनुवाईको सहजीकरण सेडेक नेपालका अध्यक्ष देवी तिमल्सेनाले गर्नुभएको हो ।