सीपी गजुरेलको सनसनीपूर्ण खुलासाः ‘भारतले जुन चाहेको थियो, त्यही गर्न पुगियो’

1487
views

काठमाडौ, ७ भदौ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपालमा गणतन्त्र स्थापनाको निम्ति पछिल्लो चरणमा आफूहरूले भारतले चाहेअनुसारै काम गर्न पुगेको बताएका छन् । ’पार्टीको तत्कालीन नेतृत्व (प्रचण्ड र बाबुराम भट्टराई) ले भारतसमक्ष आत्मसमर्पण गरेको र त्यसैअनुसार सात दल र माओवादीबीच १२ बुँदे सहमति भएको’ उनको आरोप छ ।

सहमति हुँदा उनी र मोहन वैद्य भारतको जेलमा थिए। उक्त सहमतिपछि जनआन्दोलन चर्केको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ’भारतलाई चिढ्याउने गरी चीनलाई सार्कमा भित्र्याउने र पाकिस्तानसँग सम्बन्ध बढाउने अनि भारतले भनेको कुरा जस्ताको त्यस्तै नमानेको’ उनको बुझाइ छ ।

’त्यति हुँदा पनि राजालाई साइजमा ल्याउने भारतको भित्री उद्देश्य रहेको हुनसक्ने’ बताउँदै तत्कालीन माओवादीका विदेश विभाग प्रमुख रहेका गजुरेलले आन्दोलन बढ्दै जाँदा उसले राजतन्त्रलाई ’कठैबरा भन्न नचाहेको’ विश्लेषण सुनाए । उनले भने, “त्यसकारण नीतिगत रूपमा भारतले पहिले गणतन्त्र ल्याउन खोजेर हामी पछि लागेको होइन ।“
फेरि सङ्घर्ष

त्यसको अर्थ अहिले आफूहरू माध्यम बनेको अनुभूति भएको हो त ? नेता गजुरेल भन्छन्, “जेलमा भएकाले पार्टी नेतृत्वको गतिविधि थाहा भएन । अहिले मूल्याङ्कन गर्दा भारतले जुन चाहेको थियो त्यही गर्न पुगियो ।“

राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापनापछि त्यसलाई आत्मसात् गर्ने शक्तिसँग फेरि सङ्घर्ष हुने र त्यसपछि आफूहरू जनगणतन्त्रमा जाने पार्टीको निर्णय रहेको उनको भनाइ छ । तर त्यसबाट पछि हटेर नेतृत्वले आत्मसमर्पण गरेको नेता गजुरेलले बीबीसीसँगको कुराकानीमा बताए ।