चितवनमा युरिया मलको अभाव किसानहरु चिन्तित

1055
views

नवलपुर भदौ– १८ किसानको खेतमा धान पसाउन थाल्यो, तर अझै मलको अभाव भइरहको छ । पन्ध्रदिन देखि रासायनिक (युरिया) मलको अभाव भएको हो ।

भारतबाट मल ल्याउन समय लागेका कारण चितवनलगायत देशैभरि युरिया मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड चितवनले जनाएको छ ।
धान पसाउने बेलामा बजारमा युरिया मलको अभाव भएपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् । समयमै मलको प्रयोग गर्न नपाए उत्पादन घट्ने डरले किसानहरु चिन्तित बनेका छन् ।
किसानलाई अनुदानमा मल बिक्री गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चितवनमा विगतको स्टक मल सकिएको र नयाँ मल ल्याउने प्रक्रिया चलिरहेकाले जिल्लामा युरिया मलको अभाव भएको जनाएका छन् ।
धानमा दुईपटक युनिया मल हाल्नु पर्दछ । किसानको खेतमा अहिले धान पसाउने बेला भएको छ । युरिया मलले धानलाई हरियो बनाउन र दाना लगाउन मद्दत गर्ने भएकाले अहिले धान खेतीका लागि युरिया मल आवश्यक पर्छ ।
‘धानमा मल हाल्नै पाइएन’, बछौलीका किसान मित्र रिजालले भने, ‘पसाउने बेलाको धान सुक्न थालिसक्यो ।’ मुलुकको प्रमुख खाद्यबाली धानमा समयमै मल हाल्न नपाए उत्पादन घट्ने उनको भनाइ छ ।
नेपाल ल्याउन गाडीमा लोड गरेको मल कोलकत्तामै धन्किएका कारण मल आयातमा समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतमले बताउनुभयो ।
‘भारतको रुटको समस्याका कारण युरिया मल नेपाल भित्र्याउन सकेका छैनौँ ।’ दुई हप्तादेखि नेपालमा मल प्रवेश गर्न नसकिएको भन्दै गौतमले छिटोभन्दा छिटो मल ल्याउन आवश्यक पहल भइरहेको बताउनुभयो ।
अहिले डीएपी र पोटासको भने अभाव नरहेको उहाँले बताउनुभयो । भारतको कोलकाताबाट रक्सौल हुँदै वीरगञ्ज क्षेत्रीय कार्यालयमा मल आउने गरेको छ ।
भारतबाट आयातित मल क्षेत्रीय कार्यालयले नेपालका १८ वटा कृषि सामग्री कम्पनीका कार्यालयहरुमा पठाउने गरेको छ ।
नेपालमा वार्षिक ५ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, भारतबाट वार्षिक २ लाख ८५ हजार मेट्रिक टन रासायनिक मल आयात हुने भएकाले वार्षिकरुपमा मलको अभाव हुने गरेको गौतमले बताउनुभयो ।
नेपालमा वार्षिक २ लाख १५ हजार मेट्रिक टन रासायनिक मल अझै अपुग हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । नेपाल आयात हुने कुल मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २ लाख मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ८५ हजार मेट्रिक टन मल बिक्री गर्दै आएका छन् ।
चितवनमा वार्षिक डीएपी, युरिया र पोटास गरी १४ हजार मेट्रिक टन रासायनिक मलको माग रहेको गौतमले बताउनुभयो । जिल्लामा युरिया मात्र वार्षिक ८ हजार मेट्रिक टन माग रहेको छ ।
चितवनमा हरेक वर्ष रासायनिक मलको माग बढदै गएको छ । जिल्लामा व्यावसायिक र खाद्यान्न बालीको उत्पादन बढ्दै गएका कारण मलको माग पनि बढ्दै गएको कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख गौतमले बताउनुभयो ।