बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय नभएको खुलासा

539
views

काठमाडौँ, २० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय नभएको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो सम्मेलनको कुनैपनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका हुन् ।

फाईल तस्विर


प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गरे ।

यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो । नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले भने, “बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मङ्गलबारको संसद्को बैठकमा स्पष्ट पारिसकेका छन् ।

समितिका सदस्य भीमबहादुर रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महीनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिम्स्टेकको अवधारणा प्रतिकूल हुने बताए ।