पर्वतमा भेटिएको कालीनाग संरक्षणमा जोड

1632
views

पर्वत, २७ भदौ । गत शनिवार पर्वतमा भेटिएको किङ कोब्रा (स्थानीय भाषामा कालिनाग) भनिने सर्प प्रजातीको संरक्षणमा जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।

कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेतमा भेटिएको उक्त सर्प अहिले पर्वत जिल्लाकै संरक्षित बनक्षेत्रमा राखिएको छ । उक्त सर्पको वैज्ञानिक नाम Ophiophagus hannah भएको जिल्ला वन कार्यालय पर्वतका प्रमुख कृष्ण प्रसाद ढकालले बताए । ढकालले भने यो विश्वकै दुर्लभ सर्प हो, उक्त सर्प पर्वतमा भेटिनु, खुसीको कुरा हो, उक्त सर्पजातीको संरक्षणमा लाग्नुपर्दछ ।’

यो सर्प हालसम्म १९.२ फिट सम्मको भेटिएको छ । सर्प बहुउपयोगि हो, ढकालले भने त्यहाँ भेटिएको सर्प जोडिमा हुनुपर्दछ, यसलाई मार्नु वा नष्ट गर्नु हुँदैन् । संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा पर्वतमा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको रहेको थियो ।

पर्वतमा पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको थियो । उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए ।

यो पहाड तथा तराईको गर्मी हुने वन क्षेत्रमा बस्ने सर्पको प्रजाती हो । पर्वतमा पनि भेटिएकोले यसको संरक्षणमा सचेतना जगाउनुपर्ने आवश्यकता देखिएको ढकालले बताए । गत शनिबार बस्ती नजीकैको बारीमा देखिएको उक्त सर्प आइतबार बिहान स्थानीयवासी चक्रपाणि सुवेदीको घरको कोठामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा शनिबार अपराह्न ३ बजे स्थानीयवासीले बारीमा देखेका थिए । यस क्षेत्रमा पाइने अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर त्यसले खाएको थियो ।

यस सर्पलाई मानिसले नजिस्क्याएसम्म आक्रमण नगर्ने पाइएकोले यसलाई आक्रमण गर्न, लखेट्ने, जिस्कयाउने जस्ता काम गर्न नहुने ढकालले बताए ।

यस सर्प प्रजाती पर्यावरण सन्तुलको लागि उपयोगी हुने, यस सर्प प्रजातीमा पाईने बिष विभिन्न औषधीमा प्रयोग हुने भएकोले यसको संरक्षणका लागि प्रचारात्मक कार्यक्रम समेत गर्ने योजना रहेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।