हतियारको प्रयोग गरी पत्रकारमाथि आक्रमण

1109
views

नेपालगञ्ज । बाँकेका पत्रकार तथा क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति सदस्य हेमराज न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ । गएराती अज्ञात समुहले आक्रमण गर्दा उनको टाउको, घाँटी र छातीमा गम्भिर चोट पुगेको छ । गिरोहमा आएको एक समुहले तीज कार्यक्रमको नाच चलिरहेको अवस्थामा सांघातिक आक्रमण गरेको थियो ।

पत्रकार आक्रमणको उक्त घटनालाई लिएर क्रान्तिकारी पत्रकार महासंघ बाँकेले एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघ बाँकेका अध्यक्ष दिनेश श्रीवास्तवद्वारा हस्ताक्षरित र २८ गते विहान प्रेसित विज्ञप्तिमा भनिएको छ– ‘अराजक तथा आपराधिक शैलीमा गुन्डाहरुको एक समूहले क्रान्तिकारी पत्रकार महासंघ, बाँकेका जिल्ला सदस्य हेमराज न्यौपानेलाई हिजोराति तीजको नाच चलिरहेको अवस्थामा एक्कासी ज्यान मार्ने नियतलिएर हतियारले आक्रमण गरिएको छ । हामी त्यस घटनाको घोर भर्त्सना गर्दछौं ।’

जनपक्षीय पक्षधरहरु न्याय खोज्दै हिंड्नु पर्ने तर गुण्डा तथा आपराधिक गिरोहहरु राज्यको संरक्षणमा जनतामाझ आतंक मच्चाउँदै हिंड्ने वर्तमान राज्यको दलाल तथा नोकरशाही चरित्रमाथि प्रकाश पार्दै विज्ञप्तिमा थप भनिएको छ– ‘राज्य तथा प्रहरीले अपराधिक समूहलाई उत्साहित गराउने ढंगले पटक पटक त्यहाँ गुन्डाहरुलाई छुट दिदैँ आएको छ । यसअघि तिहारमा समेत त्यहाँ गुन्डाहरुले हाम्रो संगठनका नेताहरुमाथि हतियार सहित आक्रमण गरेका थिए ।’

यदि जनताका पक्षधर शक्तिहरु र आवाजविहीनहरुको आवाज दिने जनपक्षीय पत्रकारहरुमाथि निरन्तर यस्तै खाले सांघातिक आक्रमण भइरहेमा समाज द्वन्द्वतर्फ निश्चितै रुपमा धकेलिन पुग्ने चेतावनी दिंदै विज्ञप्तिमा भनिएको छ– ‘हामी प्रहरी प्रशासनलाई सचेत गराउँदै गुन्डाहरुलाई तुरुन्त पक्राउ गर्ने माग गर्दछौं । अपराध र अपराधिलाई कारवाही नगरिए त्यस्ले सामाजिक शान्ति खलबलिने विषयमा सम्बन्धित सबै पक्षलाई सजग रहन ध्यानाकर्षण गराउँदछौं ।’