किशोरी बलात्कार र हत्या प्रकरणः निलम्बित एसपी विष्टको डीएनए परिक्षणका लागि नमुना संकलन

1309
views

काठमाडौँ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुशन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टकै डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनीबाट लिइएको ’स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण गर्न लागिएको हो ।

डा. वस्तीले भने, ’मैले आज बिहान डीएनए परिक्षणका लागि निलम्बित एसपी विष्टबाट नमुना संकलन गरेर प्रहरीलाई बुझाएको छु ।’  

प्रहरी प्रधान कार्यालयका अनुसार नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । घटनामा उनको पनि संलग्नताको आशंका गरिएको छ । यसैबीच, प्रहरी प्रधान कार्यालयले बालिकाको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि छानविन गर्न अर्को छुट्टै समिति बनाएको छ ।

घटनाको अनुसन्धान गरेका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत अर्का डीएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का लगायत विरुद्धको अनुसन्धान प्रक्रिया र गतिविधिबारे छानविन गर्न हेडक्वार्टरले एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिले घटना सम्बन्धमा भएका अनुसन्धान र त्यसमा संलग्न अधिकारीको गतिविधिबारे छानविन गर्ने प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीले बताए । समितिले उनीहरुको बयान लिने र अनुसन्धान गर्ने कार्यादेश पाएको छ । गत साउन १० गते साथीको घर गएकी बालिकाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट भेटिएको थियो ।

कञ्चनपुर घटनाको छानविन गर्न गृहमन्त्रालयले समेत सहसचिवको संयोजकत्वमा छुट्टै छानविन समिति गठन गरेको छ । बालिकाको बलात्कारपछि हत्या भएको आज ५० औँ दिनमा पनि प्रहरी अनुसन्धान शून्यमा छ ।कान्तिपुरबाट