नेकपाका २ सय ६३ नेता–कार्यकर्ता पक्राउ, विप्लवको खोजी तिव्र

1439
views

काठमाडौं, ७ असोज । सरकारले असन्तुष्ट पक्षसँगवार्ताको आव्हान गरेपनि असन्तुष्ट पक्षका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी राखेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ताको आह्वान गरेको सरकारले नेकपाका नेता–कार्यकर्ता पक्राउ गर्ने क्रम भने जारी राखेको हो । नेत्र विक्रम चन्द विप्लव पनि खोजी लिष्टमा छन् । सरकारले विप्लव, सिके राउतसहित सरकारसँग असन्तुष्ट पक्षसँग वार्ता गर्ने भन्दै सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले गत भदौ २५ गते पत्रकार सम्मलेन गरी विप्लवसहित सबै असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह समेत गरेको थियो । सरकारले वार्तामा बोलाउनुको औचित्य नभएको विप्लव नेतृत्वको नेकपाले बताउँदै आएको छ ।

नेकपाका प्रवक्ता तथा विप्लवपछिका दोस्रो ठूलो नेता खड्गबहादुर विश्वकर्मा, पोलिटब्यूरो सदस्य पदम राई, किरण राई, उमा भुजेलसहितका नेता अहिले पनि प्रहरी हिरासतमै छन् ।

गृहकै आदेशमा प्रहरीले विप्लव पार्टीका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरिहेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले वैशाखदेखि साउनसम्म विप्लव वार्टीका २ सय ६३ नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।

अर्धभूमिगत राजनीतिक गरेको नेकपाका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि पार्टीका महासचिव विप्लव पनि भूमिगत भएको प्रहरीले जनाएको छ । विप्लवलाई पक्राउ गर्न प्रहरी निगरानी बढाए पनि अहिलेसम्म सकेको छैन । विप्लवले दर्जनौं सिमकार्ड परिवर्तन गर्दै चलाउन थालेकाले प्रहरीले अहिलेसम्म लोकसन समेत पत्ता लगाउन सकेको छैन । विप्लव अहिले भारतमा बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

विप्लवपछि सुरक्षा थ्रेटको रुपमा प्रहरीले सिके राउत समूह रहेको औंल्याएको छ । तराई मधेश अलग हुनुपर्छ भन्दै अभियान चलाएको सिके राउत समूहका नेता कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले वैशाखदेखि साउनसम्मको चार महिनाको अवधिमा सिके राउत समूहका १४ जना नेता कार्यकर्ता पक्राउ गरेको छ ।