अलैँचीको घट्दो उत्पादनले किसान निराश

1011
views

गोरखा, ७, असोज । अलैँची खेती गर्नका लागि धान रोप्ने खेतसमेत मासेका अजिकोटका किसान अहिले चिन्तित हुन थालेका छन् ।

अलैँचीको उत्पादन अनि बिक्री मूल्य पनि निकै कम भएको उनीहरूको गुनासो छ । सबै थोक छोडेर अलैँची खेतीतिर लागियो, अलैँची व्यवसायी समितिका सचिवसमेत रहेका कृषक कृष्ण घिमिरेले भने केही वर्ष राम्रै थियो तर अहिले त्यस्तो छैन ।

अजिकोट गाउँपालिकाको हंसपुर, खरिबोट, काफलडाडाँ, लप्सीबोच, सिम्जुङ, मुच्चोकलगायतका किसान घट्दो उत्पादन र मूल्यका कारण चिन्तित हुन थालेका हुन् । अघिल्लो वर्ष करिब १५० टन जति अऋलैचि उत्पादन भएको थियो ।

उत्पादन कम भएपनि यतिबेला सो क्षेत्रका किसानलाई अहिले अलैँची टिप्न भ्याइनभ्याई छ । ढुसीजन्य रोगको प्रकोप, गबारो कीराको समस्या, पुराना बिरुवामा कम फल्ने लगायतका समस्याका कारण उत्पादनमा कमी आएको किसानहरुको भनाई छ ।

रोग कीराको समस्या पनि छ, कृषि ज्ञानकेन्द्रका प्रमुख यामकुमार श्रेष्ठले भने ‘उत्पादन घट्नुको मुख्य कारण स्याहार सम्भारमा कमी हो ।’ कृषकले अलैँची खेती विस्तार गरे पनि मलखाद र गोडमेलमा उचित ध्यान नदिँदा उत्पादन घटेको उहाँको भनाइ छ ।

अलैँची खेतीलाई स्थानीय सरकारले पनि उचित महत्व नदिएको किसानहरूको आरोप छ । कृषि कार्यालयले पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अगाडि बढाइसके पनि गाउँपालिकाले बजेट नछुट्याउँदा किसानहरू अन्योलमा परेका छन् ।