चितवनको विकासमा छिमेकी मुलुकको चासो: प्रचण्ड

892
views

नवलपुर, असोज– ८ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको विकासमा छिमेकी मुलुक भारत र चीनले समेत चासो रहेको बताएका छन् ।

आइतबार क्षेत्रपुरमा निर्माण भएको तरकारी बजारको उद्घाटन सत्रमा केही दिनअघि चीन र भारत भ्रमण गरेर फर्किएको प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले भने, ‘समग्र चितवनको विकासमा छिमेकी मुलुकको समेत चासो रहेकोले यहाँको विकासको लागि सबैको एकता र हातेमालो आवश्यक रहेको छ ।’

जिल्लाको विकासको लागि चितवनवासीको सक्रियताका कारण पनि छिमेकी मुलुकले बढी चासो देखाएको उनको बुझाइ छ । ‘हामीले निर्वाचनअघि नै अबको दशक भनेकै विकासको दशक हो भनेर भनेका थियौँ,’ उनले भने, ‘त्यसैले अब हामीले कसरी हुन्छ समग्र चितवन र समग्र देशको विकासलाई हेर्नुपर्नेछ ।’

मुलुकभरका सबै जिल्लाको तुलनामा चितवन जिल्लाले विकासको गतिमा फड्को मार्न सफल भएको उनले बताए ।चितवनमा सुविधासम्पन्न तरकारी बजार निर्माण हुनु पनि विकासको एउटा उदाहरण भएको उनले प्रष्ट पारे । ‘चितवनको तरकारी बजार निर्माण हुनुमा संवेधानिक परिकल्पनाको एउटा उदाहरण हो,’ उनले भने । यसले बजारसँग सम्बन्धित सन्देश फैलाउने काम गरिएको उनको भनाइ छ ।

सरकारले केही समय अघिदेखि कृषिमा व्यवसायिकता र आधुनिकताको निमित्त विभिन्न स्थानमा कृषि जोन घोषणा गर्ने अभियान चलाउँदै आएको उनले बताए । अब नयाँ निर्माण भएको तरकारी बजारबाट उत्पादन हुने फोहोर व्यवस्थापनको लागि प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन स्थानीय सरकारले पहल गर्न अध्यक्ष प्रचण्डले आग्रह गरे । फोहोरलाइ पनि आयमूलक कार्यमा लगाउन सकिन्छ । त्यसको लागि भरतपुर महानगरले सही कदम चाल्नुपर्छ ।