भरतपुरमा तीन पाँग्रे सवारी चालकहरूको विरोध प्रदर्शन

1144
views
अजय पौडेल, चितवन, असोज १२– चितवनका अटो रिक्सा चालकहरु फेरि आन्दोलनमा उत्रिएका छन् । मूख्य राजमार्गको चौविसकोठीदेखि नारायणगढको पुलचोकसम्मको डेढ किलो मिटर दुरीमा एक महिनाका लागि भएपनि अटो रिक्सा चलाउन माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
 
 
 
विरोध प्रदर्शन स्वरुपमा उनीहरु आज दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडिबाट भरतपुर महानगरपालिकाको गेटसम्म विरोध र्यागली निकालेका छन् । उनीहरुले निधारमा कालो पट्टि बाधेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
अखिल नेपाल इ–रिक्सा मजदुर संगठनका सुर्दशन बजगाईले आफूहरुले महानगरपालिका समक्ष राखेको भरतपुरको डेढ किलो मिटर मूख्य राजमार्गमा अटो रिक्सा चल्न पाउनु पर्ने मागप्रति बेवास्ता गरिएकोले विरोध प्रदर्शन गरिएको जानकारी दिए । उनले भने–“हामीले एक महिनासम्म भएपनि डेढ किलो मिटर क्षेत्रमा चलाउन दिनुस् भन्दा महानगरले नमानेपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।” अटो रिक्सा चालक बजगाईले भित्री सडकमा अटो रिक्सा चलाउदा रोजी रोटी पनि गुम्ने र परिवारको गुजारा चलाउन पनि मुश्किल भएकोले आन्दोलनमा उत्रिएको बताए ।
भरतपुर महानगरपालिकाले दुई महिना अघि मूख्य राजमार्गको ११ किलो मिटर क्षेत्रमा तीन पाँग्रे सवारी साधन संचालन गर्नमा रोक लगाएको थियो । त्यसपछि चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर अटो रिक्सा चालक महेन्द्र सुनार समेत घाईते भएका थिए ।
आज आन्दोलनमा उत्रिएका चालकहरुले महेन्द्रको परिवारलाई क्षतिपुर्ती दिन माग समेत गरेका थिए । असोज १४ गते आइतबार १२ बजेसम्म माग पुरा नभए आन्दोलनले चर्को रुप लिने ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटाले बताए ।